म्याग्दी । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीका अस्थायी मतदाताहरुका लागि बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागार शाखामा मतदान केन्द्र कायम भएको छ । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जिल्लास्थित विभिन्न कार्यालय, ब्यारेक, कारागार, वृद्धाश्रम लगायतका विभिन्न सङ्घसंस्थामा रहेका अस्थायी मतदाताहरुको नामावली तयार पारिएको जनाएको छ ।
म्याग्दीमा आठ सय ६३ जना अस्थायी मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताए । दाबी विरोध लगायतका प्रक्रिया पूरा गरी कायम भएका मतदाताहरुले प्रतिनिधिसभाको समानुपातिकमा मात्र मतदान गर्न पाउनेछन् । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा स्थायी मतदाताका ८२ वटा मतदानस्थल र एक सय १९ वटा मतदान केन्द्र कायम गरिएको छ । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १९ जना उम्मेदवार छन् ।
बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार चार सय ७२, मङ्गला, मालिका र धवलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार ६ सय ४८ जना मतदाता छन् ।