बेलायतको मेरीलिवोनसँगको खेल, नेपाली खेलाडीलाई सिकाइ र अवसर



क्रिकेटको पुरानो क्लब बेलायतको मेरीलिवोन क्रिकेट क्लब (एमसिसी)को महिला टोली अहिले नेपालमा छ । नेपाली महिला टोलीसँग क्रिकेट खेल्न सो टोली नेपाल आएको हो ।

यही कात्तिक ५ गतेदेखि नेपाल भ्रमणमा रहेको एमसिसीको टोलीले छ मैत्रीपूर्ण खेल खेल्यो । उसले दुई खेल जितेर चारवटा हा¥यो । आइसिसीको यु–१९ र मिक्स ११ टोलीलाई हराएको एमसिसीले नेपाली महिला राष्ट्रिय क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ (क्यान–११) सँगको सबै खेल भने हा¥यो । 


खेलमा हारजितभन्दा पनि अनुभव आदान–प्रदान उदाहरणीय बनेको नेपाली टोलीकी कप्तात रुबिना क्षेत्रीले बताइन् । “खेल जिते पनि हामीले राम्रो खेल्न सकेनौँ, हामीलाई ४० ओभरको क्रिकेट खेल्ने बानी  छैन”, उनले भनिन्, “क्रिकेटको पुरानो क्लबसँग खेल्नु ठूलो कुरा हो, उहाँहरूबाट धेरै सिकियो ।” 

एमसिसीको टूर नेपाल आउनु आफूहरूका लागि सिक्ने अवसर भएको प्रशिक्षक जगत् टमाटाले बताए । “एमसिसीले एकदमै राम्रो टोली लिएर आएको थियो, उहाँहरूसँग खेल्दा खेलाडीमा आत्मविश्वास बढेको छ”, उनले भने, “सबै खेल जित्यौँ, हाम्रा लागि राम्रो रह्यो ।” टोलीसँग खेलेर ४० ओभर खेल कसरी खेल्ने, आफूलाई मानसिकरूपमा कसरी तयार गर्ने र फिटनेसमा के कति ध्यान दिनुपर्ने रहेछजस्ता  विषयमा ज्ञान बढेको टमाटाको भनाइ छ । 

विश्वकप खेलिसकेका खेलाडीसँग खेल्न पाउँदा नेपाली खेलाडीले क्रिकेटसम्बन्धी धेरै कुरा सिक्न पाएको नेपाल क्रिकेट सङ्घ कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । यो प्रतियोगिताले नेपाली खेलाडीको कमजोरी पनि देखाएको भन्दै उनले जसलाई सुधार गरेर जाने अवसर मिलेको बताए।

पोखरामा माछापुच्छ्रे र अन्नपूर्ण हिमाल हेर्दै खेल्न पाउँदा निकै खुसी लागेको एमसिसीका व्यवस्थापक क्लेरी टेलरको भनाइ छ । नेपाली टोली पनि राम्रो भएकाले खेल निकै प्रतिस्पर्धात्मक बनेको उनको प्रतिक्रिया थियो । क्रिकेटको जननी बेलायतको मेरीलिवोन क्रिकेट क्लबले दुई सय ३५ वर्षको इतिहास बोकेको छ । यो क्रिकेट क्लब सन् १७८७ मा स्थापना भएको हो ।