पक्राउ परे दुर्घटनापछि फरार कारका चालक



भैरहवा । ओमसतिया गाउँपालिका–४ पननीमा तीन जनाको ज्यान जाने गरी भएको दुर्घटनाको कार चालक पक्राउ परेका छन् । दुर्घटना पश्चात कारसहित फरार रोहिणी गाउँपालिका–३ का अजयकुमार चौधरीलाई रुपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार चौधरीलाई भैरहवाको गल्लामण्डीबाट पक्राउ गरिएको हो । सोमबार भएको दुर्घटनापछि कार चालक चौधरी फरार थिए । प्रहरीले दिनभरि कारको खोजी गर्दा नभेटेपछि रु २५ हजारको पुरस्कारसहित सर्वसाधारणलाई सूचना दिन अपिल गरेको थियो ।


सोमबार साँझ नै प्रहरीले बा८च ६५३२ नम्बरको कार सिद्धार्थनगर नगरपालिका–११ पिप्रहियामा तिरपालले छोपेको अवस्थामा फेला पारेको रेग्मीले जानकारी दिए । फिक्का निलो रङको टाटा भिष्ट कारको टुक्रा घटनास्थलमा भेटिएको थियो । सोही प्रमाणका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

सोमबार भैरहवा परासी हुलाकी सडक खण्डमा भैरहवाबाट परासीतर्फ जाँदै गरेको सो कारले पाँच पैदलयात्रीलाई ठक्कर दिएको थियो । त्यसमध्ये ३५ दिने शिशुसहित दुई जनाको ज्यान गएको थियो । मृत्यु हुनेमा २८ वर्षीया प्रमिला कुर्मी, १४ वर्षीया सीमा कुर्मी र ३५ दिनको शिशु थिए ।