निगरानी बढाउँदै ट्राफिक प्रहरी



रसुवा । ट्राफिक नियमको पूर्णपालनाबाट सवारी दुर्घटना न्यूनीकरण गराउन यहाँ कार्यरत ट्राफिक प्रहरी सक्रिय रहेको छ ।

हिमाली क्षेत्रको कच्ची सडकमा चालक अनुमति पत्र बिनाका व्यक्ति सवारी साधन चलाउने कार्यमा सक्रिय हुन थालेपछि ट्राफिक प्रहरीले निगरानी बढाएको हो । पूर्णरूपको दक्षता बेगर सडकमा सवारी चलाउने व्यक्ति उपर ट्राफिक प्रहरीले बढाएको निगरानीबाट मानवीय संरक्षणमा मद्दत जनाइएको छ ।


चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म मोटरसाइकल चालक अनुमतिपत्र एवं बिल बुक समेत नभेटिएका तीन सय २० जनालाई सचेत गराउँदै ट्राफिक प्रहरीले जरिवानासमेत गरेको हो । यस्तै रसुवागढी नाकामा दिनप्रतिदिन सवारीसाधनको चाप बढ्दै गएको र साना तथा ठूला अधिकांश साधनले समेत सवारीसाधनको प्रमाण नबोक्ने गरेको पाइएकाले त्यस्ता गैरजिम्मेवार सबैखाले सवारी चालकलाई जरिवाना गर्दै ट्राफिक नियमको जागरण गराउँदै आएको छ ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख उज्ज्वल कुमार घलेका अनुसार साउनदेखि असोजसम्म कारबाही पर्नेमा मोटरसाइकलका साथै चार सय ९५ ट्रक तथा टिपर, एक सय ५४ जिप/कार एवं ३१ वटा यात्रुवाहक बस रहेका छन् । ती सवारीधनीलाई गरिएको जरिवानाबाट १० लाख सात हजार जरिवाना गरिएको बताइएको छ ।

नियमको पूर्णपालना गराउँदै बेला-बेलामा हुने सवारी दुर्घटना न्यूनीकरण गराइ आम नागरिकको जिउ ज्यानको संरक्षणमा ट्राफिक प्रहरीले गरेको योगदान राम्रो रहेको नागरिक समाजले जनाएको छ ।