जसपाको प्रतिबद्धतापत्र : कार्यकारी राष्ट्रपति, संविधानको पुनर्लेखन ! (पूर्णपाठ)



काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) ले घोषणापत्र सार्वजनिक गरेको छ । जसपाले आज आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै घोषणापत्र सार्वजनिक गरेको हो । 

प्रतिबद्धता पत्रमा पार्टीले संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखनको आवश्यकता औँल्याएको छ । पहिचान र सामर्थ्यको आधारमा राज्य पुनर्संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीमा परिवर्तन आवश्यक रहेको जिकिर गरेको हो ।


पार्टीले प्रतिबद्धता पत्रमा समानुपातिक निर्वाचन प्रणालीको आधारमा सबै तहको निर्वाचन गर्नुपर्ने उल्लेख गरेको छ । त्यस्तै शासकीय स्वरुपमा कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने तथा कार्यकारी राष्ट्रपतिले समावेशी रूपमा सक्षम व्यक्तिहरूको छनोट गरेर मन्त्रिपरिषद् बनाउने उल्लेख गरेको छ ।

आगामी निर्वाचन जितेपछि भने आर्थिक विकासको मुख्य लक्ष्य र उद्देश्य लिने जसपाले घोषणा गरेको छ । जसपाले आर्थिक बृद्धिदर उच्च राख्न पूँजी निर्माण तथा परिचालन, नयाँ प्रविधिको उपयोग र विकासका साथै विभिन्न रूप र स्थितिमा रहेका उत्पादक शक्तिहरूको क्षमता विकास एवं प्रभाव विस्तारमा जोड दिने घोषणापत्रमा उल्लेख छ ।

अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीले आजको युगमा राजनैतिक लोकतन्त्र मात्रै काम नभएको र अब सामाजिक, आर्थिक लोकतन्त्रको रुपमा पनि विकास गर्ने बताए । यस्तै, बहिष्करणमा परेका समुदायलाई सामाजिक न्यायको प्रणाली विकास गरी समावेशी लोकतन्त्रको अभ्यास गर्नु पर्ने उनले बताए ।