चुनाव जित्नका लागि विकासका एजेन्डामा बहस



जाजरकोट । जनयुद्ध समापनसँगै जाजरकोटमा अधिकांश समय नेकपा (माओवादी केन्द्र) ले जित्दै आएको छ । यस पटकको निर्वाचनमा दुर्गम जिल्ला जाजरकोटमा एकले अर्कालाई आरोपभन्दा पनि विकासका एजेन्डाका विषयमा बढी चर्चा भएको छ । विकास निर्माणमा पछाडि पर्नुमा नीति निर्माण तहमा बस्ने व्यक्तिले जाजरकोटलाई चासो नदिएको आरोप यहाँका सर्वसाधारणको गुनासो छ।

तीन दर्शकअघि नेपाली कांग्रेस र नेकपा (एमाले) बीच हुँदै आएको प्रतिस्पर्धामा २०६४ देखि नेकपा (माओवादी केन्द्र) ले नतिजा आफ्नो पोल्टामा पार्दै आएको छ । माओवादी विभाजनको असरले जाजरकोट क्षेत्र नं २ गुमाउँदै आएको थियो । माओवादी विभाजनपछि जिल्लाको राजनीति र निर्वाचनको नतिजा यिनै तीन दलका उम्मेदवारको वरिपरि नै घुम्ने गरेको छ ।


विसं २०७४ अघि जाजरकोटमा दुई निर्वाचन क्षेत्र थिए । २०४८ सालमा भएको आम निर्वाचनमा क्षेत्र नं १ मा कांग्रेसका द्वारिकाप्रसाद प्रधान र क्षेत्र नं २ बाट एमालेका कृष्णबहादुर शाहीले जितेका थिए । त्यसपछि २०५१ मध्यावधि निर्वाचन हुँदा भने दुवै क्षेत्र कांग्रेसले जित्यो । त्यतिबेला क्षेत्र नं १ बाट झलकनाथ वाग्ले र क्षेत्र नं २ बाट दीपकजङ्ग शाह विजयी भए । यस्तै २०५६ सालको आम निर्वाचनमा क्षेत्र नं १ बाट राप्रपाका गोविन्दविक्रम शाह र क्षेत्र नं २ बाट एमालेका रत्नप्रसाद न्यौपानेले जितेका जितेका थिए।

कांग्रेस–एमाले प्रतिस्पर्धालाई चिर्दै २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा जाजरकोटका दुवै निर्वाचन क्षेत्रमा माओवादीले बाजी मार्‍या । क्षेत्र नं १ बाट कालीबहादुर मल्ल र क्षेत्र नं २ बाट भक्तबहादुर शाह विजयी भए । त्यसयताका हरेक निर्वाचनमा माओवादी भने जिल्लामा नतिजा शून्य हुनु परेको छैन ।

विसं २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा क्षेत्र नं १ बाट माओवादीका शक्तिबहादुर बस्नेत निर्वाचित भए भने क्षेत्र नं २ बाट कांग्रेसका राजीवविक्रम शाहले चुनाव  जितेका थिए । २०७४ मा प्रतिनिधिसभाको निर्वाचन हुँदा जाजरकोट एउटै निर्वाचन क्षेत्रमा कायम भयो । उक्त निर्वाचनमा बस्नेत र शाह आमने-सामने बने। तर एमालेको समेत साथ पाएका बस्नेतले बाजी मार्दा शाह पराजित बने। बस्नेतले ३२ हजार दुई सय ८१ मत पाउँदा शाहले २३ हजार दुई सय ८९ मत पाएका थिए ।

प्रतिनिधिसभाको कार्यकाल पूरा भइसकेकाले मङ्सिर ४ को निर्वाचनमा माओवादी केन्द्रले पुनः शक्तिबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ । अघिल्लो पटक एमाले र माओवादी उम्मेदवार बनेर जितेका बस्नेतले यस पटक नेपाली कांग्रेससहितको सत्ता गठबन्धनका साथमा लगातार तेस्रो पटक चुनाव जितेर ‘ह्याट्रिक’ गर्ने दाउमा छन्।

बस्नेतसँगको प्रतिस्पर्धामा एमालेले युवानेता निरज आचार्यलाई अघि सारेको छ । अघिल्लो पटक माओवादीसँगको गठबन्धनका कारण प्रदेशसभा सदस्यको उम्मेदवार हुन नपाएका आचार्य यस पटक प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दै छन् । जिल्लामा विकास निर्माणका कामहरूमा बस्नेतले धेरै काम गरेकाले बाँकी रहेका काम गर्नका लागि बस्नेतको जित निश्चित भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । 

शान्ति प्रक्रियायता जिल्लामा गरेका सबै काममा माओवादीले जस लिँदै आएको छ । सुर्खेतको रकममा रहेको सडक डोल्पासम्म पुर्‍याएको, मध्यपहाडी लोकमार्गको काम अन्तिम चरणमा पुगेको, जिल्लामा ५० शश्याको अस्पताल निर्माण, नलगाड जलविद्युत् आयोजनाको काम, जाजरकोट बहुप्राविधिक शिक्षालय, कर्णालीकै पहिलो सरकारी स्वमित्वको जडीबुटी प्रशोधन केन्द्र स्थापना, जिल्लालाई तीन ठाउँबाट ठूला सडकसँग जोडिएको, कर्णालीकै सबैभन्दा बढी खाद्य डिपो स्थापना, टेलिफोन टावर र विद्युतीकरण निर्माण लगायतका एजेन्डामा माओवादीले भोट मागिरहेको छ । 

एमालेले जिल्लामा भएका कामहरू ढिलासुस्ती भएको भन्दै छिटो निर्माण गर्न प्रतिनिधिसभादेखि प्रदेशसभा आफूले जित्नुपर्ने प्रतिबद्धतासहित जनतासँग भोट मागिरहेको छ । २०६४ यता एमालेको नेतृत्व नभएका कारण उसले देखाउने कुनै खास काम नभएकाले अन्य पार्टीको कमजोरीलाई देखाएर आफ्नो पक्षमा मत ल्याउन खोजेको छ । 

को कति बलियो ?

विसं २०७४ को स्थानीय निर्वाचन हुँदा जाजरकोटमा एमाले पहिलो दल थियो । जिल्लाका सातमध्ये तीन पालिका प्रमुखसहित २९ वडाध्यक्ष एमालेले जितेको थियो । दोस्रो स्थानमा रहेको कांग्रेसले दुई पालिका प्रमुखसहित २५ वडाध्यक्ष र माओवादीले दुई पालिका प्रमुखसहित २३ वडाध्यक्ष जितेको थियो ।

पाँच वर्षपछि २०७९ साल वैशाखमा दोस्रोपटक स्थानीय निर्वाचन हुँदा एमाले भेरी नगरपालिकाको प्रमुख, बारेकोट र जुनिचाँदे गाउँपालिकाको अध्यक्ष जितेको छ । कांग्रेसले भेरी नगरपालिका र नलगाड नगरपालिका तथा जुनिचाँदेमा उपाध्यक्ष, शिवालय गाउँपालिका अध्यक्ष, छेडागाडमा प्रमुख र कुशे गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष  जितेको छ । माओवादीले बारेकोटमा उपाध्यक्ष, छेडागाडमा उपप्रमुख, नलगाडमा प्रमुख जितेको छ । 

सोही निर्वाचनलाई आधार मानेर हेर्दा जिल्लामा सत्तारूढ गठबन्धनसँग करिब ६२ हजार एक सय १२ मत छ । एमालेको मत २५ हजार नौ सय ८५ हजार रहेको देखिन्छ । सत्तारूढ गठबन्धन ३६ हजार भोटले प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा अगाडि रहेको छ । त्यस्तै जाजरकोटमा स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीसमेत प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । नेकपा (माओवादी केन्द्र) बाट विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा अघिल्लो पटक गठबन्धन गरेका एमाले र माओवादीले एक-एक क्षेत्र बाँडेका थिए । प्रदेशसभा (क) मा माओवादी केन्द्रका गणेशप्रसाद सिंहले १६ हजार नौ सय ११ मत पाएर निर्वाचित हुँदा कांग्रेसका बेदराज सिंहले १२ हजार आठ सय ७८ मत पाएका थिए

विसं २०७४ को स्थानीय निर्वाचन हुँदा जाजरकोटमा एमाले पहिलो दल थियो । जिल्लाका सातमध्ये तीन पालिका प्रमुखसहित २९ वडाध्यक्ष एमालेले जितेको थियो । दोस्रो स्थानमा रहेको कांग्रेसले दुई पालिका प्रमुखसहित २५ वडाध्यक्ष र माओवादीले दुई पालिका प्रमुखसहित २३ वडाध्यक्ष जितेको थियो ।

त्यसैगरी प्रदेशसभा (ख) मा वाम गठबन्धनकै उम्मेदवार एमालेका करवीर शाहीले १५ हजार एक सय ८५ मत ल्याएर विजयी हुनुभयो भने कांग्रेसका दीपकजङ्ग शाहले १० हजार तीन सय ६० मत पाए। अघिल्लो चुनावमा गणेश सिंहसँग पराजित बेदराज सिंह अहिले गणेशकै साथमा चुनाव प्रचारमा छन् । अघिल्लो पटक चुनावमा गणेशलाई सघाएका एमालेका अहिलेका उम्मेदवार (क) का उम्मेदवार डम्वरबहादुर सिंह विरुद्धमा छन् । 

यसपटक एमाले एकातिर छ भने कांग्रेस र माओवादीसहित एमालेबाट टुक्रिएको एकीकृत समाजवादीलगायत सत्तारूढ दल अर्कोतिर छन् । त्यसैले पनि प्रदेशसभाको दोस्रो निर्वाचन जाजरकोटमा थप रोचक हुने देखिन्छ । निर्वाचन क्षेत्र नं १(क) मा भेरी र नलगाड नगरपालिकासहित बारेकोट गाउँपालिका र कुसे गाउँपालिकाको पाँच वडा रहेका छन् । नलगाड गठबन्धनले जितेको छ भने बारेकोटमा अध्यक्ष एमाले र उपाध्यक्ष माओवादीले जितेको छ । भेरीको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेसको जित भएको छ । कुशेमा अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसकै रहेको छ । सत्ता गठबन्धनबाट प्रदेश ‘क’ मा नेपाली कांग्रेसका वेदराज सिंह उम्मेदवार छन् । एमालेले डम्मरबहादुर सिंहलाई उम्मेदवार बनाएको छ । त्यस्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष कमानबहादुर खड्का प्रदेश १ (क) बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । खड्काको स्वतन्त्र उम्मेदवारीका कारण क्षेत्र नं १ (क) को चुनाव थप रोचक बनेको छ । 

यसैगरी छेडागाड नगरपालिकासहित जुनिचाँदे, शिवालय गाउँपालिका र कुसे गाउँपालिकाका चारवटा वडा क्षेत्र नं १ (ख) मा पर्दछ । प्रदेश ‘ख’ बाट नेपाली कांग्रेसले राजीवविक्रम शाहलाई उम्मेदवार बनाएको छ भने एमालेले खिमबहादुर शाहीलाई अघि सारेको छ । यिनै दुई उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । 

एकीकृत समाजवादीका कृष्णबहादुर बुढाले पनि उम्मेदवारी फिर्ता लिएर राजीवविक्रम शाहलाई समर्थन गरेका छन् । क्षेत्र नं १ (ख) मा जुनिचाँदे उपाध्यक्ष कांग्रेसले जितेको छ । शिवालय गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादीको पोल्टामा परेको छ । एमालेले जुनिचाँदे गाउँपालिकाको अध्यक्ष बाहेक (ख) मा अरू जितेको छैन । 

प्रतिनिधिसभाका उम्मेदवार शक्तिबहादुर बस्नेत राष्ट्रिय राजनीतिमा प्रभाव पर्ने व्यक्तिमध्येमा पर्छन्। उनलाई गठबन्धनले सोही अनुसार प्रचार गर्दै आएको छ । बस्नेत स्वयंले पनि केही काम अधुरा भएकाले पूरा गर्नका लागि आफ्नो उम्मेदवारी भएको बताए। ‘जिल्लाको परिचय फेर्नका लागि केही अधुरा काम गर्नु पर्नेछ, त्यसैले पनि मैले यो पटक उम्मेदवारी दिएको हुँ’, बस्नेतले भने । 

उता एमालेका तर्फबाट उम्मेदवारी दिएका निरज आचार्यले जिल्लामा विकास निर्माण कामहरू ढिलासुस्ती भएकाले छिटो निर्माण गर्नका लागि भएको बताए। स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले भ्रष्टाचारविरुद्ध आफ्नो उम्मेदवारी दिएको बताए।