गाउँघरमा देखिन छोड्यो अरिंगालको गोला



फुङ्लिङ । मौरी शब्द सुत्रासाथ जो कोहिले मह चाखेको कल्पना गर्छन् र मुख मिठ्याउँछन् । अरिंगाल सुत्रासाथ त्यसले चिल्दाको सास्ती स्मरण गर्छन् । पहाडी क्षेत्रमा प्रशस्त पाइने अरिंगाल आजभोलि देख्न मुस्किल हुँदै गएको छ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ का चिरन राई एक समयका अरिंगाल सिकारी थिए । उनले दिनभर अरिंगाल उडेको पछ्याउन धेरै टाढाटाढासम्म पुग्थे । विशेषगरी बिहान सूर्योदयको समय र सूर्यास्तको समयमा डाँडामा बसेर अरिंगाल उडेको माउ हेर्दै नजिक वा टाढा छ भत्रे सजिलै पत्ता लगाउथे । तर आजभोलि अरिंगाल भेटिन छाडेसँगै अरिंगालको सिकार गर्न छाडेका छन् ।


पाँच वर्षअगाडि कात्तिक र मङ्सिरमा अरिंगालको माउ उडेको पछ्याउँदै अरिंगालको गोलो पोल्नमा व्यस्त हुने राईका लागि आजभोलि फुर्सद मिलेको छ । सूर्योदय र सूर्यास्तको किरणसँगै उडेको देखिने अरिंगालका माउ अचेल देख्न मुस्किल हुँदै गएको राईको भनाइ छ ।

सोही गाउँमा शहरमान राई र राजकुमार राई पनि विगतका वर्षहरुमा प्रख्यात अरिंगाल सिकारी उपनामले परिचित नाम हो । दिनमा अरिंगालको गोलो पत्ता लगाएपछि बेलुका पोल्ने र झार्ने काम गर्थे । बिस्तारै अरिंगाल लोप हुँदै गएसँगै उनीहरुले अरिंगालका सिकार गर्ने पेसा परिर्वतन गरेका छन् । शहरमान राई अहिले मिस्त्री काममा व्यस्त छन् भने राजकुमार राई अलैँची खेती गर्न थालेका छन् ।

विगतमा गाउँघर वरिपरिका जंगलहरुमा तथा ठूलाठूला रूखको हाँगा र चट्टानमा अरिङ्गालको गोलो देख्न सकिन्थ्यो । तर आजभोलि जंगल भिर पहाड तथा रूखका हाँगाहरुमा अरिंगाल देख्न मुस्किल हुँदै गएको फक्ताङलुङ गाउँपालिका–६ का वसन्त लिम्बूले बताए । उनले भने, ‘केही वर्षअगाडि घरको छानोमा समेत अरिङ्गालको गोलो देख्न पाइन्थ्यो तर आजभोलि जङ्गलमा समेत देख्न मुस्किल हुँदै गएको छ ।’

जैविक विविधताको क्षेत्रमा लामो समय काम गर्दै आउनुभएका हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार अरिङ्गाल एक प्रकारको समूहमा बस्ने विषालु किरा हो । यसको देख्न सक्ने क्षमता धेरै हुन्छ । अरिंगालले मौसमअनुसार आफ्नो घर फेर्ने यो किरा जमिनमुनि र अग्लाअग्ला रूखको हाँगामा गोलो बनाएर बस्ने गर्दछ ।

सन् २०१८ मा इकोलोजिकल इन्टोमोलोजी जर्नलमा ‘हामी किन मौरीलाई माया र अरिंगाललाई घृणा गर्छौं’ भत्रे एउटा अनुसन्धानात्मक लेख प्रकाशित भएको पाइन्छ । सेइरिन सम्नर, जर्जिया ल र अलसान्ड्रो सिनीको संयुक्त रूपमा प्रकाशित उक्त लेखले मौरी र बारुलाको प्रकृतिमा खेल्ने भूमिका समान रहेको उल्लेख गरिएको छ । यिनीहरुले बिरुवालाई परागसेचनमा सघाउँछन् । विशेष गरेर मौरीले परागसेचनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अरिंगाल-बारुला चाहिँ किरा–फट्याङ्ग्रा खाएर खेतीपातीमा सघाउँछन् । अरिङ्गालले बालीमा लाग्ने किरा खाएर कीट नियन्त्रणको काम गर्ने उल्लेख छ ।

सो अनुसन्धानले ४५ देशका सात सय ५० जना मानिसहरूमा गरेको सर्वेक्षणमा सहभागीले अरिंगाल भत्रे बित्तिकै उनीहरूको टोक्ने (खिल), रिस उठ्दो र खतरनाक किरा सम्झिए भने मौरी भत्रे बित्तिकै मह र परागसेचन सम्झिएको उल्लेख छ । त्रिभुवन विश्वविद्यालयका कीटविज्ञ दयाराम भुसालका अनुसार अरिंगालहरू विशेषतः जङ्गलमा बस्ने स्वभावका हुन्छ  । अरिङ्गालले आफूलाई चाहिने सीमित मात्रामा मह उत्पादन गर्छ  ।

मौरी र अरिङ्गाल दुवै उस्तै भए पनि टोकाइ फरक हुने भुसालले बताउनुभयो । मौरीले एक पटकमात्रै टोक्छ, जुन उसका लागि हानिकारक हुन्छ । कारण खिलसँगै मौरीको पाचन प्रणालीको केही भाग नशा छाड्ने गर्छ । अरिंगाल-बारुलाले पटकपटक टोक्ने भएकाले मानिसलाई विभित्र प्रकारको दुष्प्रभाव पर्छ । एकै पटक धेरै प्रकारको एलर्जीको सामना गर्नुपर्ने भएकाले प्रतिरोध गर्न नसक्ने अवस्था हुने अनुसन्धानहरूमा देखाइएको छ । मौरी तथा अरिङ्गालका खिलमा विशेषगरी मेलिटिन र एपामिन नामक पदार्थ रहेको हुन्छ ।

मेलिटिन एउटा विषालु पदार्थ भएकाले मानिस वा अन्य जन्तुको कोषलाई छेड्ने र मार्ने काम गर्छ भने एपामिन रक्तनली हुँदै दिमागसम्म पुग्ने र रक्तसञ्चारमा अवरोध गर्ने अनुसन्धानहरूमा पाइएको छ । बारुला-अरिङ्गालहरूमा फोसपोफोलिएज–ए, बी, अर्लाम फोरोमोन्स, ह्यालारोनिडेज, एमसिडी पेप्टाइड, वास्प काइनिन, हिस्टामाइन, सेरोटोनिन, डोपामाइन जस्ता तत्वहरू पाइन्छ  ।

संसारमा १७ हजार प्रजातिका मौरीको पहिचान भएको छ भने नेपालमा छ प्रजाति पाइन्छन् । तिनमा चार रैथाने प्रजातिका पर्दछन् । नेपालमा बारुला-अरिङ्गाल भने ११ प्रजाति पाइन्छ  । यी प्रजाति असार÷साउनदेखि मङ्सिर-पुससम्म सक्रिय हुने त्रिवि जीवविज्ञान विभागबाट गङ्गा काफ्लेले गरेको शोधपत्रमा उल्लेख गरिएको छ ।