कास्की क्षेत्र नं ३ मा पनि मतगणना सुरू



कास्की । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आइतबार भएको निर्वाचनमा क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । पोखरा महानगरपालिका–७ सहिदचोकस्थित जिल्ला समन्वय समितिको कार्यालयभित्र रहेको सभाहलमा दिउसो १ः४५ देखि पोखरा–१ बगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयको मत गणनामा गरिएको हो ।

उक्त क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १५ उम्मेदवार रहेकामा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल पाँच दलीय गठबन्धनबाट प्रतिस्पर्धी भएका छन् । यसैगरी नेकपा(एमाले)बाट दामोदर पौडेल(वैरागी), राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुवेदीलगायत उम्मेदवार छन् ।


प्रदेशसभा ३ (१) मा पाँच दलीय गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)का दुर्गादत्त भण्डारी, नेकपा(एमाले)बाट गणेशमान गुरुङ तथा ३(२)मा नेपाली कांग्रेसका प्रकाश बराल, नेकपा(एमाले)का राजीव पहारीलगायत उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

क्षेत्र नं ३ मा कूल एक लाख एक हजार सात सय १५ मतदाता रहेकामा आइतबार भएको मतदानमा ६१ हजार चार सय १४ जनाले मतदान गरेका थिए । प्रतिनिधिसभाका लागि तीन र प्रदेशसभाका लागि छ निर्वाचन क्षेत्र रहेको कास्कीमा पुरुष एक लाख ३९ हजार ४२, महिला एक लाख ५३ हजार पाँच सय २२ र अन्य चार गरी कूल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता छन् ।