काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै प्रतिगमनकारीको संज्ञा दिएका छन् । आफ्नो कदमको बचाउ गर्दै उनले चुनावको विषयमा गरेको प्रतिबद्धताअनुसार प्रचण्ड अघि नबढेका कारण प्रतिनिधिसभा विघटन गरेको दाबी गरे ।
आइतबार कालिकोटमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दैै अध्यक्ष ओलीले प्रधानमन्त्री देउवा प्रतिगामी भएको आरोप लगाएका हुन् । उनले देउवालाई देख्दा आफूलाई असोज १८ र माघ १९ को सम्झना आउने बताए ।
उनले भने, ‘देउवालाई हेरेर मलाई अहिले पनि असोज १८ र माघ १९ गते सम्झनामा आउँछ। देउवाले अहिले पनि मौका पाए भने लोकतन्त्रलाई लगेर कतै बुझाइदिन्छन् । मैले ताजा जनादेशमा जाने निर्णय लिनु प्रतिगमन भन्नेहरुको विगत हेर्नुस् त मौका पर्दा लोकतन्त्रलाई कहाँ लगेर बुझाउँछन् ?’
प्रचण्डले चुनावी प्रतिबद्धताअनुसार अघि नबढेले प्रतिनिधिसभा विघटन गर्नु परेको ओलीले आरोप लगाए । उनले भने, ‘प्रतिनिधिसभा सधैँ बाँच्ने होइन । अहिले प्रतिनिधिसभा छ र ? यो समय समयमा चुनाव हुने हो’, उनले भने, ‘आफ्नो घरमा आगो लगाएर कांग्रेसको पालीमा बास बस्न प्रचण्ड गएका छन् ।’
उनले यस निर्वाचनले देशलाई अस्थिर बनाएर बर्बादीतर्फ धकेल्नेहरूको फैसला गर्ने बताए । उनले भने,‘यो निर्वाचन सधैं आइरहने निर्वाचन जस्तो होइन, यस निर्वाचनले असाधारण महत्वको फैसला गर्नुपर्ने छ । यस देशको राष्ट्रिय हितको रक्षा र सम्बद्र्धन सँगसँगै देशको गौरव र स्वाभिनमाथि उठाउने कि देशलाई पराधीनतातर्फ देशलाई लाने यो फैसला मंसिर ४ ले गर्छ ।’
उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि जनयुद्धका नाममा कपालमा जेल लगाउँदै कुखुराको साँप्रासँगै झोल खाएर नेता भएको टिप्पणी गरे । उनले जहिले पनि मान्छे उचालेर सहिद बनाउने अनि नहेर्ने प्रवृत्ति माओवादीमा देखिएको आरोप लगाए ।
माओवादीले दक्षिण शक्तिसँग मिलेर सरकार बनाउन कोशिस गरेको ओलीले आरोप लगाए। संविधान, संघीयता र लोकतन्त्र जोगाउने किन नजोगाउने भन्ने प्रश्न अहिले खडा भएको ओलीको भनाइ छ।