काठमाडौँ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खनाल अग्रस्थानमा



काठमाडौँ । काठमाडौँ क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल सात हजार सात सय ९६ मतसहित अग्रस्थानमा छन् ।

अपराह्न ३ बजेसम्म कूल १३ हजार तीन सय ४३ मत गणना हुँदा नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले तीन हजार ६८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले दुई हजार नौ सय ४७ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


तारकेश्वर नगरपालिकाको धर्मस्थलीस्थित वडा कार्यालय भवनमा मतगणना जारी छ । अहिले सो क्षेत्रको प्रदेशसभा २ को मतगणना चलिरहेको छ । तीन स्थानमा मतगणना गरिएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिए । सो क्षेत्रमा ३९ हजार ६६ मत खसेको थियो ।

अहिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना भइरहेको छ । सो क्षेत्रमा ६२ हजार मतदाता रहेका थिए । सोही क्षेत्रको प्रदेशसभा (१) मा कांग्रेसका उम्मेदवार हरिप्रभा खड्गीले दुई हजार पाँच सय ६३ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जगतसागर महर्जनले दुई हजार तीन सय ६० मत प्राप्त गरेका छन् ।

प्रदेशसभा (२) मा एमालेका अमनकुमार मास्केले तीन हजार दुई सय ४६ मत प्राप्त गर्दा कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले दुई हजार पाँच सय ९३ मत पाएका छन् ।