काठमाडाैँ । घरेलु टोली नेपालले यूएईविरुद्धको एदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोस्रो खेलमा जित निकालेको छ । बुधबार भएको दोस्रो एकदिवसीय खेलमा नेपालले यूएईलाई ३ विकेटले हराएको हो ।
काठमाडौँको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा युएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले सर्वाधिक ३७ रन बनाए ।
त्यस्तै, कुशल भुर्तेलले ३५, आरिफ शेखले ३३ र ज्ञानेन्द्र मल्लले २६ रन जोडे । युएईका रोहन मुस्तफाले तीन र हज्रत बिलालले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३ ओभर २ बलमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको थियो । युएईका मुहम्मद वसिमले सर्वाधिक ५० रन बनाए ।
अलिशन सराफूले ३५ रन बनाउँदा भृत्य अरविन्दले २५ रन जोडे । नेपालका लागि सोमलाल कामी र ललित राजवंशीले समान ३ विकेट लिए ।
नेपालको जितसँगै ३ खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । अन्तिम एवम् निर्णायक खेल शुक्रबार हुनेछ ।