आँबुखैरेनीका दुई वडाका गाउँलाई पर्यटकीय गन्तव्य बनाइने



तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका कार्यालयले गाउँपालिकाका दुई वडामा पर्ने गाउँलाई पर्यटकीय गन्तव्य बनाउने भएको छ । गाउँपालिका अन्तर्गत वडा नम्बर १ को गिरौनचौर र वडा नम्बर ६ को हिलेखर्कलाई नमूना पर्यटकीय गाउँ बनाउन लागिएको हो ।

यसका लागि गाउँपालिकाले दुवै वडामा रु ३०/३० लाख बजेट विनियोजन गरिसकेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उक्त क्षेत्रमा रहेका घरबासलाई व्यवस्थित गरी घुमाउने घरको संरक्षण एवं संवद्र्धन गरी पर्यटकलाई थप आकर्षण गर्ने लक्ष्य राखिएको छ । 


पृथ्वीराजमार्ग खण्डमा हुनसक्ने दुर्घटनालाई लक्षित गरी हाइवे इमर्जेन्सी अस्पताल एण्ड ट्रमा सेन्टर निर्माण गर्ने योजना बनाएको छ । आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा रहेको सार्वजनिक जग्गामध्ये करिब २० रोपनी जग्गा सदुपयोग गरी एक सय शय्या क्षमताको अस्पताल बनाउन सम्भाव्यता अध्ययन गर्न लागेको हो ।

प्रदेश र सङ्घीय सरकारका स्वास्थ्य मन्त्रालयमा अस्पताल निर्माणको लागि उक्त स्थान उत्तम रहेको भनी गाउँपालिका कार्यालयले सिफारिस गरेको अध्यक्ष चुमानले जानकारी दिए । सम्भाव्यता अध्ययनका लागि प्रदेश सरकारले केही बजेट विनियोजन गरेकाले छिट्टै अध्ययन गरी उचित स्थान ठहरिए प्रक्रिया अघि बढाइने उनले बताए ।

राजमार्गसँगै जोडिएको उक्त स्थानमा करिब एक सय रोपनी जग्गा सार्वजनिक रहेकाले गाउँपालिकाले जग्गा संरक्षणका साथै सेवा प्रदान गर्न अस्पताल निर्माण गर्ने अवधारणा अघि बढाएको हो । गाउँपालिकाको वडा नं २ र ४ को सिमानमा पर्ने ऐना पहरामा ऐनापार्क बनाउन लागेको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चालू आर्थिक वर्षमा रु एक करोड ४० लाख विनियोजन गरिसकेको सो गाउँपालिका कार्यालयले जनाएको छ ।

बहुवर्षीय योजनाअन्तर्गत आफ्नै स्रोतमा डिपिआर गरी प्रक्रिया अघि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । कुल रु पाँच करोड लाग्ने अनुमान अनुरुप गौरवको आयोजनामा राखेर काम गर्न लागेको गाउँपालिका कार्यालयले जनाएको छ । पृथ्वीराजमार्ग भएर दैनिक सयौं सवारीसाधन गुड्ने हुँदा पर्यटकलाई आकर्षण गर्न सकेको अवस्थामा आयआर्जन गर्न सकिने प्रचुर सम्भावना देखिएको उनको भनाइ छ ।