अरुण खोला दुम्किबास १३२ केभी सव–स्टेशन निर्माण प्रक्रिया सुरु



मध्यविन्दु । नवलपरासीपूर्व विनयी त्रिवेणी गाउँपालिकामा सव–स्टेशन निर्माणको प्रक्रिया सुरु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ मा निर्माण गरिने अरुण खोला दुम्किवास १३२ केभी सवस्टेशन आयोजनाका लागि जग्गा अधिग्रहणको काम सम्पन्न भएको आयोजना प्रमुख रञ्जननाथ गुरुङले बताए ।

सव–स्टेशन निर्माणका लागि आवश्यक चार बिघा जमिनको मुआब्जा वितरणको काम सकिएको उनले बताए । एसियाली विकास बैंकको ७० लाख अमेरिकी डलर सहयोगमा दुई वर्षभित्र निर्माण सम्पन्न हुने आयोजना निर्माणका लागि ठेकेदार कम्पनी छनोट गरी सम्झौताको काम अगाडि बढेको आयोजना प्रमुख गुरुङले बताए ।


हाल बर्दघाटबाट ह्वाङ्सी सिमेन्ट उद्योगसम्म आएको १३२ केभी प्रसारण लाइनमा डबल सर्किटको सव–स्टेशन निर्माण गरिनेछ । सव–स्टेशन निर्माणपछि मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाका उपभोक्ताले भोग्नुपरेको भोल्टेजसम्बन्धी समस्या समाधान हुनेछ ।

हाल मध्यविन्दु नगरपालिकाको गिरुवारी खोलापूर्व क्षेत्रमा प्रगति नगर सव–स्टेशन र पश्चिमतर्फ बर्दघाट सब–स्टेशनमार्फत विद्युतीकरण हुँदै आएको छ । अब सव–स्टेशन निर्माणपछि गिरुवारी खोला पश्चिम मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा सोही स्टेशनबाट विद्युतीकरण हुनेछ । हाल यस क्षेत्रका स्थानीयवासीले कम भोल्टेज समय समयमा विद्युत् प्रसारण अवरुद्ध हुने जस्ता समस्या भोग्दै आएका छन् ।

सव–स्टेशन निर्माणले स्थानीय उपभोक्ताले भोग्नुपरेको समस्या समाधानसँगै स्थानीयस्तरमा लगानीको वातावरण तयार हुने विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले विश्वास व्यक्त गरे ।

हाल विनयी त्रिवेणी गाउँपालिका क्षेत्रमा उद्योग तथा व्यवसाय स्थापनाका लागि आउने व्यवसायीहरूको सङ्ख्या उल्लेखनीय रहेको भन्दै उनले सव–स्टेशन निर्माणपछि थप व्यवसायी व्यवसाय सञ्चालनका लागि गाउँपालिका आउने उनले विश्वास व्यक्त गरे ।