अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजन पक्षले पेस गर्न नसकेको सन्दीपका वकिलको दाबी



काठमाडाैँ । जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा आजदेखि थुनछेक बहस प्रारम्भ भएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेविरुद्ध थुनछेक बहस प्रारम्भ भए पनि सुनुवाइ नभ्याएकाले हेर्दाहेर्दैमा बिहीबारका लागि राखिएको छ ।

सो मुद्दामा सरकारी वकिलका तर्फबाट चार जनाले बहस गर्दै लामिछानेले बलात्कार गरेको जिकिर गरे । भोलि लामिछानेका तर्फबाट बहस हुनेछ ।


थुनछेक बहसको पहिलो दिन बुधबार काठमाडौं जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट दुई कुरामा जोड दिएको सन्दीप पक्षका कानुन व्यवसायी मुरारी सापकोटाले बताए । उनले करणीको अभियोग दर्ता गराएकी किशोरीको अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजनपक्षले पेस गर्न नसकेको बताए ।

उनले भने, ‘आज विशेष गरी प्रतिवादीको तर्फबाट काठमाडौं जिल्ला अदालत समक्ष हामीले दुई वटा विषयवस्तु जोडदार रुपमा उठायौँ । पहिलो कुरा जुन जबर्जस्ती करणीको वारदात भयो भनेर अभियोग आएको छ, त्यो अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजनपक्षले पेस गर्न सकेको अवस्था छैन भन्ने विषय हामीले उठायौँ । पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर कुनलाई मान्ने, जन्म दर्तालाई मान्ने वा नागरिकतामा भएको उमेरलाई मान्ने, किनभने नागरिकता पछि बनेको कागज भयो । जन्मदर्ता मौकामा बनेको कागज भयो । नागरिकता बनाउँदा पछि जागिर खानलाई सजिलो हुन्छ भनेर घटाएर बनाउने आम प्रचलन छ । त्यसले गर्दा हाम्रो जोड जन्म दर्तालाई नै आधार मान्नुपर्छ भन्ने जोड रह्यो ।’

सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते उक्त मुद्दा दायर गरिएको थियो । सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ ।