अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईका भाइ एवम् प्रभावशाली व्यापारी महमूद कारजाईलाई अफगान शासन चलाइरहेको तालिबानले नियन्त्रणमा लिएको छ । आइतबार कारजाईलाई काबुल विमानस्थलबाट तालिबानले हिरासतमा लिएको स्रोतले खामाप्रेसलाई बताएको छ ।
पूर्वसहरी विकास र भूमिमन्त्री समेत रहेका महमूद कारजाईलाई कानूनी समस्याका कारण विदेश यात्रा गर्न प्रतिबन्ध लगाइएको तालिबानका प्रवक्ताले टोलो न्युजलाई जानकारी दिएका छन् ।
तालिबानको प्रधानमन्त्रीको कार्यालयनजिकैको एक स्रोतले खामाप्रेसलाई महमूद कारजाईलाई तालिबानको गुप्तचर सेवाले काबुल विमानस्थलबाट हिरासतमा लिएको बताएको छ । उनी दुबईको एरियाना एयरलाइन्सको उडानमा सवार थिए ।
हमिद कारजाई र अब्दुल्लाह अब्दुल्लाह दुबै जना अगानिस्तानका उच्च तहका राजनीतिज्ञ हुन् । उनीहरु तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गरेपछि पनि अफगानिस्तानमै बस्दै आएका छन् । पूर्वराष्ट्रपति हमिद कारजाईले तालिबान सरकारको महिला अधिकारलाई कुण्ठित गरेको भन्दै आलोचना गर्दै आएका छन् । उनले तालिबानलाई समावेशी सरकार गठन गर्न पनि माग गरिरहेका छन् ।
खामाप्रेससँग कुरा गर्ने स्रोतले महमूद कारजाईलाई हिरासतमा राख्नुको कारण उनका भाइ हमिद कारजाईको राजनीतिक टिप्पणी हुनसक्ने बताएको छ ।