सुकुम्वासीका घरटहरा भत्काउने निर्णय फिर्ता लिन एमालेको माग



काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन मतदानको समय नजिकिँदै गर्दा सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई आतङ्कित पारेर मतदान प्रभावित पार्ने गठबन्धन सरकारको कदमको भत्र्सना गरेको छ ।

बाग्मती र यसका सहायक नदी किनारमा बनाइएका सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुका घरटहरा भत्काउन वाग्मती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गरेकोप्रति गम्भीर आपत्ति प्रकट गर्दै एमालेले घरटहरा हटाउन गरेको उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको हो ।


एमाले केन्द्रीय कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले गोरखापत्रमा सूचना प्रकाशन गरी काठमाडौं उपत्यकाभित्रका बागमती र यसका सहायक नदी किनारामा बनाइएका घरटहराहरु २०७९ मंसिर ४ गतेभित्र अनिवार्यरुपमा हटाउन र नहटाएमा समितिले आफै हटाउने सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एमालेले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या दशकौंदेखीको पुरानो समस्या हो । यो समस्यालाई जरैदेखि समाधानको लागि पार्टी सरकारमा हुँदा भूमि सम्बन्धी ऐनमा आठौं संशोधन गरी भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गा एवं आवास उपलव्ध गराउने सम्बन्धी आवश्यक सबै कानुनी व्यवस्था पहिलो पटक गरेको सबैलाई जानकारी नै रहेको उल्लेख गरेको छ ।

विज्ञप्तिमा सोही व्यवस्थालाई कार्यान्वयनमा लैजान भूमि सम्बन्धी समस्या समाधान आयोग बनी ७४३ स्थानीय तहसँग समझदारी भई लगत सङ्कलन, सत्यापन, प्रमाणीकरण र जग्गा नापजाँच भईरहेको अवस्थामा दलगत स्वार्थ राखेर गठबन्धन सरकारले आयोग विघटन गरेको हुँदा उक्त महत्वपूर्ण कार्यले निरन्तरता पाउन नसकेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘भूमि सम्बन्धी ऐनको दफा ५२(ख) मा भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको स्थानीय तहको अगुवाईमा लगत लिनुपर्ने, उनीहरुको छानविन हुनुपर्ने, स्थानीय तहले भूउपयोग क्षेत्र नक्शा बनाई लागु गर्नुपर्ने र अति जोखिम स्थान वा कानुनले निषेध गरेको स्थानमा रहेका परिवारको हकमा विकल्प दिएर मात्र स्थानान्तरण गर्नुपर्ने व्यवस्था छ । कानुन अनुसार हटाउनैपर्ने भएमा पनि स्थान्तरण योजना विना हटाउन मिल्दैन । अत समितिले स्थानीय तहमार्फत लगत नलिई, कुनै छानविन नगरी, स्वयं सुकुम्वासी र अव्यवस्थित बसोवासीसँग कुनै परामर्श नगरी घर टहरा भत्काउन गरेको सूचना देशभरका सुकुम्वासी एवं अव्यवस्थित बस्तीमा आतङ्क सिर्जना गरी उनीहरुलाई त्रासमा राखी आसन्न चुनावलाई समेत प्रभाव पार्ने नियतले गठबन्धन सरकारले सुनियोजित ढङ्गले गरेको देखिन्छ । यस्तो कार्यको पार्टी घोर भत्र्सना गर्दछ । नेकपा एमालेले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित वसोवासीले भय र त्रासरहित वातावरण निर्माण गर्न सबैमा अपिल गरेको छ । विज्ञप्तिमा भनिएको छ– भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको अधिकार सुनिश्चितताको लागि पार्टी गम्भीर रहेको पनि स्पष्ट गर्दछौं ।’