सहारा फुटबल एकेडेमीलाई १५ लाख सहयोग



पोखरा । सहारा क्लब पोखराले सञ्चालन गरेको फुटबल एकेडेमीलाई रु १५ लाख सहयोग प्राप्त भएको छ । पोखराका प्रतिष्ठित उद्योगी एवं राजनीतिज्ञ स्व सूर्यबहादुर केसीको दोस्रो वार्षिक स्मृति दिवस पारेर आज केसीका परिवारले सो रकम प्रदान गरेका हुन् ।

स्व केसीकी धर्मपत्नी प्रेमकुमारी केसीले सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङलाई सहयोग रकमको चेक हस्तान्तरण गरिन् । कार्यक्रममा केसीका छोरा तथा युवा उद्योगी प्रकाश केसीले सहारासँगको बुबाको संस्थागत निकटता र सबैलाई मायाको दृष्टिकोणले हेर्ने भएकाले परिवार एकेडेमीको सञ्चालनमा जोडिएको बताए । गत वर्ष केसी परिवारले क्लबले सञ्चालन गर्दै आइरहेको एकेडेमीको जिम्मेवारी लिँदै वार्षिक १५ लाख १० वर्षसम्म प्रदान गर्ने सम्झौता गरेको थियो ।


कार्यक्रममा स्व जुमबहादुर गुरुङको स्मृतिमा उनको परिवारले एकेडेमीलाई ५० हजारको अक्षय कोष सञ्चालन गर्ने गरी रकम हस्तान्तरण गरेको छ । सहारा एकेडेमीमा १४ जना कठिन परिस्थितिका बालकहरु आश्रित रहँदै आएका छन् ।

हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउको नाममा केसी परिवारले सहारा क्लबले आयोजना गर्ने आहा–रारा गोल्डकप प्रतियोगिताको मुख्य प्रायोजन गर्दै आइरहेको छ । सहारा क्लबले आफैँले जग्गा खरिद गरेर पोखरा–१७ दोविल्लामा एकेडेमी सञ्चालन गर्दै फुटबल खेलको विकास गदैै आएको छ ।