भजनी। कैलालीको टीकापुर नगरपालिका क्षेत्रमा सडक बोर्ड नेपालको साझेदारीमा नगर भित्रका विभिन्न सडकमा खाल्डाखुल्डीको मर्मतसम्भार भएपछि आवागमनमा सहज भएको छ ।
कालोपत्र भएर बिग्रेका सडकको मर्मतसम्भार भएपछि सवारी दुर्घटनामा समेत कमी आउने स्थानीय वीरेन्द्र रावल बताउँछन् । ‘सडकको अवस्था निकै नाजुक थियो केही हदसम्म भए पनि समाधान गर्ने प्रयास नगरपालिकाले गरेको छ ।’ नगरपालिकाले बर्सेनि कालोपत्र गरेका सडकहरू एकदुई वर्षमै जीर्ण बन्ने गरेकाले नगरपालिकाले प्राविधिक सुधार ल्याउनुपर्ने स्थानीय वीरेन्द्र साउँदले जानकारी दिए ।
सडकका खाल्डाखुल्डीकै कारण कैयौँ दुर्घटनामा नागरिकहरूले ठूलो मूल्य चुकाउनु परेको बताउँदै सडकलाई एकैनासको बनाउँदा दुर्घटनाको जोखिम कम हुने बताए । उनले भने, ‘केही दिनअगाडि रातिको समयमा मेरो मोटरसाइकल दुर्घटना भयो । हातमा चोट लाग्यो र उपचारका लागि नेपालगञ्ज पुग्नुपर्यो ।’
नगरपालिकाले तीन चरणमा कालोपत्र सडक मर्मतसम्भारको काम गर्दै आएको नगरपालिकाका योजना प्रमुख इन्जिनियर नवराज जोशीले जानकारी दिएका छन् । उनका अनुसार प्रत्येक वर्ष सडक बोर्ड नेपालले मागका आधारमा कालोपत्र भएर बिग्रेका सडकलाई मर्मतसम्भारका लागि कुल लागतको ७० प्रतिशत बजेट उपलब्ध गराउँदै आएको छ । त्यसमा ३० प्रतिशत लगानी नगरपालिकाको रहन्छ । त्यसै अनुसार नगरपालिकामा एक किलोमिटर, सात सय आठ मिटर कालोपत्र सडक मर्मतसम्भारको काम भइरहेको छ ।
नगरपालिकाले ६७ लाख ४२ हजार एक सय एक भ्याटसहितमा आयोजनाको सम्झौता गरेको इन्जिनियर जोशीले बताए ।