शेखर कोइरालाले सार्वजनिक गरे संकल्प प्रस्ताव



माेरङ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका लागि मोरङ ६ बाट उम्मेदवार बनेका शेखर कोइरालाले निर्वाचनलाई लक्षित गरेर संकल्प प्रस्ताव सार्वजनिक गरेका छन् । 

कोइरालाको संकल्प प्रस्तावमा आर्थिक असमानता र गरिवी जस्ता चुनौतीको सामना गर्ने, शुद्ध खानेपानी, ढल निकास, बिजुली, बाटो, स्वास्थ्य र शिक्षातर्फ पर्याप्त सुधार गर्ने विषय उल्लेख छ । 


युवा बेरोजगारीको समस्या डरलाग्दो रहेका ठहर गर्दै यसको सम्बोधन नगरी लोकतन्त्र स्थिर र उन्नत हुन सम्भव नहुने काेइरालाकाे संकल्प प्रस्तावमा उल्लेख छ ।

ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क स्वास्थ्य उपचारसँगै सबै नेपालीलाई राष्ट्रिय स्वास्थ्य बिमाको सुरक्षित खाकामा बाँध्ने कार्यक्रम ल्याउने वाचा पनि उनले संकल्प प्रस्तावमार्फत गरेका छन् ।

यस्तो छ कोइरालाको संकल्प प्रस्ताव

संविधानको रक्षा, राजनीतिक स्थिरता,
सदाचारी एवं सक्षम राज्यसंयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि ]मेरो संकल्प]

प्रिय साथीहरु,
हामी फेरि पाँच बर्षपछि आम निर्वाचनको संघारमा छौँ । हामीले उत्साह र उमंगका साथ हाम्रा चाडपर्व मनाइरहेका छौँ । आम निर्वाचन पनि सबै नेपालीहरुको लागि उत्सवको रुपमा हाम्रो अगाडि आएको छ । मंसिर ४ गते हामी हाम्रा केन्द्रीय प्रतिनिधि (सांसद) र प्रदेश सभाका प्रतिनिधिहरु छनोट गर्न गइरहेका छौँ । यसै कडिमा मोरङ क्षेत्र नं। ६ का तपाई मतदाताहरु लोकतान्त्रिक मताधिकारको प्रयोग गर्दै आफ्ना प्रतिनिधि छान्न गईरहनु भएको छ ।

साथीहरु,
हाम्रो क्षेत्र बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिएको छ । अब विविधता बीच सामाजिक, सांस्कृतिक, ऐक्यबद्धता र सदभावलाई संरक्षण गर्दै यस क्षेत्रको आर्थिक विकासलाई अगाडि बढाउनु छ । संविधानको रक्षा, राजनीतिक स्थिरता, सदाचारी एवं सक्षम राज्यसंयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि नेपाली कांग्रेस पार्टी र गठबन्धनले मलाई मोरङ क्षेत्र नं ६ बाट उम्मेदवार बनाएको छ । साथै  प्रदेश सभा सदस्य पदका लागि  मोरङ  क्षेत्र ६ प्रदेश (क) बाट नेकपा माओबादी केन्द्रका जीवन आचार्य र मोरङ  क्षेत्र ६ प्रदेश (ख) बाट नेपाली कांग्रेसका केदार कार्की उम्मेदवार हुनुहुन्छ ।

यस क्षेत्रको आर्थिक असमानता र गरीबी जस्ता चुनौतीका साथै शुद्ध खानेपानी, ढल निकास, बिजुली, बाटो, स्वास्थ्य र शिक्षातर्फ पर्याप्त सुधार गर्नुपर्ने आवश्यकता छ । युवा बेरोजगारीको समस्या डरलाग्दो छ। यसको सम्बोधन नगरी लोकतन्त्र स्थिर र उन्नत हुन सम्भव छैन । हाम्रा सम्मानित  ज्येष्ठ नागरिकहरुका लागि निशुल्क स्वास्थ्य उपचार सँगै सबै नेपालीलाई राष्ट्रिय स्वास्थ्य बिमाको सुरक्षित खाकामा बाँध्ने कार्यक्रम हामी ल्याउँदै छौं।

त्यसैगरी गछिया, केशलिया (बुढी), सिगिंया नदीको कटान र बस्ती प्रवेश रोक्न बलियो तटबन्ध निर्माणलाई उच्च प्राथमिकतामा राखिने छ । विराटनगर विमानस्थलको स्तरोन्नति, पूर्वाञ्चल विश्वविद्यालयको शैक्षिक सुधार र मेडिकल कलेज यथाशीघ्र सञ्चालनमा ल्याइने छ । बिराटनगर चक्रपथको काम सम्पन्न गरि यथासक्य छिटो सञ्चालनमा  ल्याइनेछ।

मोरङ क्षेत्र नं ६ को समग्र विकास र राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निभाउन मलाई तपाईहरुको सहयोगको आवश्यकता छ । म समग्र नेपाली कांग्रेस भित्र पुस्तान्तरण र रुपान्तरणको लागि मात्र लडिरहेको छैन, मोरङको गौरवशालीस् इतिहास र परम्परालाई समेत निरन्तरता दिने प्रयासमा छु । आज जब म तपाईहरुसँग विवेकको प्रयोग गर्नुहोस् भनी मतको अनुरोध गरिरहेको छु, तब म आधुनिक नेपालको इतिहास निर्माता बीपी कोइरालालाई सम्झिरहेको छु । बीपी जसलाई हामी सबै (सान्दाजु) भनी सम्बोधन गर्दथ्यौँ, संयोगले म उहाँले नै चुनाव लड्नुभएको क्षेत्रमा भोट माग्न तपाईहरुको घरदैलोमा आएको छु । यो त्यही  क्षेत्र हो जहाँ गिरिजाप्रसाद कोइराला आफ्नो प्रतिनिधि छान्न मतदान गर्नुहुन्थ्यो ।

 साथीहरु,
मलाई थाहा छ म माथि मेरो क्षेत्र र समग्र लोकतान्त्रिक आन्दोलनको ठुलो अपेक्षा छ । म मेरा मतदाताहरुलाई र मोरङको गौरवशाली इतिहासलाई साक्षी राखेर विश्वास दिलाउन चाहन्छु म किमार्थ तपाईहरुको भरोसामाथि कुठाराघात गर्ने छैन । म तपाईहरुको मतको अपमान हुन दिने छैन र शिर झुक्न दिने पनि छैन । आगामी मंसिर ४ गते तपाईहरुको मतबाट हुने विजय हामी सबैको विजय हुनेछ। यो मोरङको विशिष्ट राजनीतिक संस्कार र परम्पराको जित हुनेछ । यो क्षेत्रको मात्रै हैन समग्र राष्ट्रलाई नै समन्याय, असल शासन र समुन्नतिको बाटोमा अघि बढाउन मलाई ठुलो प्रेरणा मिल्ने छ । सदा झैं यहाँहरुको स्नेह र विश्वासको भारी अपेक्षा सहित जय नेपाल।

डा. शेखर कोइराला
प्रतिनिधि सभा सदस्य उम्मेदवार, मोरंङ क्षेत्र नं. ६
१९ कार्तिक २०७९

#शेखर कोइराला