काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह अमेरिकन फ्रिडम पार्टीको चुनाव चिन्ह जस्तै भएको भन्दै कटाक्ष गरेका छन् ।
मंगलबार जनसांस्कृतिक महासंघद्वारा पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्हबारे प्रश्न उठाएका हुन् ।
उनले भने, ’अमेरिकामा एउटा अमेरिकन फ्रिडम पार्टी छ। त्यसको चिह्न घण्टी छ। दुरुस्तै आकारको फोटो खिचेजस्तो घण्टी यहाँ ल्याएको छ। तर फ्रिडम पार्टी । यो संयोग नै होला ?’ अध्यक्ष ओलीले पहिले सुकेको घण्टी अहिले बेलुन झै फुलेको बताए ।
उनले भने, ’अस्तिसम्म स्याप्प थियो त्यो बेलुन, कसैले हावा नहाली त हुप्प भएन होला । कसै न कसैले त पक्कै हावा भरिदिएको हुनुपर्छ।’ उनले नेपालमा पश्चिमावाद आउन सक्ने भन्दै चिन्ता व्यक्त गरे ।
उनले चुनावमा हुलदंगा गरेर र मान्छे मारेर नागरिकलाई मतदान गर्नबाट वञ्चित गरेको आरोप लगाए । अध्यक्ष ओलीले बाजुरामा विद्यार्थी मारिएको र हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्नेलाई नै प्रशासनले पक्राउ गरेका आरोपसमेत लगाए ।