रुस–युक्रेन युद्धका कारण युक्रेनमा देखिएको ऊर्जा र पानीको सङ्कट समाधान गर्ने उद्देश्यले जी–७ राष्ट्रहरूले संयन्त्र बनाउँने भएका छन् ।
अत्यन्त विकसित र औद्योगिक राष्ट्रहरूको समूहले युक्रेना देखिएको सङ्कट समाधान गर्न नयाँ तत्परता देखाएको छ । “आज हामी युक्रेनमा देखिएको चरम ऊर्जा, पानी र पूर्वाधारको मर्मत, पुनर्स्थापना र रक्षा गर्न जी–७ समन्वय संयन्त्र स्थापना गर्दैछौँ,“ जी–७ विदेश मन्त्रीहरूद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यसैबीच जारी रुस–युक्रेनयुद्धमा मस्कोसँग इरानको गहिरो सैन्य पङ्क्तिबद्धता देखिएको र चीनको बढ्दो दृढ समर्थन आदिका बारेमा छलफल गर्न जर्मनीले पश्चिमी जर्मन शहर मुएन्स्टरमा दुई दिने बैठक आयोजना गरेको छ ।
जी७ राष्ट्रहरूले रुसलाई तत्काल युद्ध रोक्न र सैन्य आक्रमण र सैन्य सामग्री फिर्ता लिन आग्रह गरेका छन् । उनीहरूले रुसले पछिल्ला दिनहरूमा ऊर्जा क्षेत्रलाई लक्ष्यित गरेर इरान निर्मित ड्रोन र अन्य मिसाइल हतियार प्रयोग गरेर गरेको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।
रुसको पछिल्लो आक्रमणबाट करिब ४० प्रतिशत ऊर्जा क्षेत्र तहसनहस भएको र जनता लामो समयसम्म अन्धकारमा बस्नुपर्ने बाध्यता आएको छ ।