काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रमुख दलहरूले प्रत्यक्षतर्फको उम्मेदवारी दिँदा महिलालाई उपेक्षा गरेका छन् । निर्वाचन आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रमा २४१२ जनाले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गरेका छन् ।
जसमध्ये साना दल र स्वतन्त्र गरी प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ २२५ महिलाको उम्मेदवारी परेको छ । यसमध्ये प्रमुख दल नेकपा एमालेले आफूले उम्मेदवारी दिएको १४४ क्षेत्रबाट ११ जना महिलालाई उम्मेदवार बनाएको छ ।
यस्तै माओवादीले केन्द्रले ८ जनालाई टिकट दिँदा कांग्रेसले पाँच र २० क्षेत्रमा उम्मेदवारी दिएको एकीकृत समाजवादीले एक जना महिलालाई मात्रै उम्मेदवार बनाएका छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले समान १२–१२ जना महिलालाई उम्मेदवार बनाएको छ । मधेस केन्द्रीत दल जनता समाजवादी पार्टीले ७९ उम्मेदवारमध्ये ७ जना महिलालाई टिकट दिएको छ।
यस्तै ५१ ठाउँमा उम्मेदवार उठाएको लोसपाले ५ जना महिलालाई प्रतिनिधि सभामा प्रत्यक्ष उम्मेदवार बनाएको छ । यस्तै ६१ क्षेत्रमा महिला उम्मेदवार शुन्य रहेको निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका अनुसार सबैभन्दा बढी महिला उम्मेदवार नभएको मधेश प्रदेशका १५ निर्वाचन क्षेत्र छन् । यस्तै प्रदेश १ का ११ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शून्य हुँदा सुदूरपश्चिममा १० क्षेत्र, कर्णालीमा ९, गण्डकी र लुम्बिनीमा ६–६ र बागमती प्रदेशका ४ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शून्य रहेको छ।