मिथिलामा छठको ‘सनेस’ को चटारो



महाेत्तरी । छठ पर्व सकिएसँगै मिथिलाका आम गृहिणीलाई अब ‘सनेस’ (कोसेली) को चटारो छ । पर्वको ‘सनेस’ छोरीचेली (छोरी, दिदीबहिनी र फुपु) इष्टमित्र, मित/मितिनी र नजिकका आफन्तलाई पठाउने परम्पराले अहिले मैथिल गृहिणी (मिथिलाका नारी, मिथिलानी पनि भनिन्छ) लाई ठकुवा, भुसुवासहितका परिकार पकाउन र सम्बन्धित कहाँ पठाउने चटारो परेको हो ।

दशहारा (दसैँ), तिहार (दीपावली) पर्व सकिएलगत्तै छठको तयारीमा लाग्दा गृहस्थ जीवनका काम असरल्ल परेकै बीच अहिले ‘सनेस’ भ्याउनुपरेको मैथिला गृहिणी बताउँछन् । “धान थन्क्याइसकिएको छैन, हिउँदे बाली लगाउने चटारो छँदैछ, तर अहिले यी सबै थाती राखेर छठको ‘सनेस’ पकाउनुपरेको छ”, महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरकी शान्तिदेवी साह भन्छिन्, “फुपु कहाँ त हिजै पठाइयो, अब छोरीहरु र मितकहाँ पठाउनु छ ।”


मिथिलामा छठ र तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्वको ‘सनेस’ पठाउने आम परम्परा छ । छठ सकिएलगत्तै पठाइने ‘सनेस’ मा ठकुवा (गहुँको पिठोमा सख्खर मिसाएर घ्यूमा पकाइने खास मिष्टान्न परिकार), भुसुवा (कसार), पिरुकिया (पिठोबाटै बनाइने मिठो परिकार, खाजा पनि भनिन्छ) र केरा हुने गर्छ । यसरी पठाइने ‘सनेस’ छठ नमनाइने परिवारमा पर्व सकिएलगत्तै र अन्य कहाँ एक÷दुई सातासम्म लगाएर पठाइने गरिएको छ ।

पकाउने काम गृहिणीको भए पनि ‘सनेस’ पु¥याउन चाँही बाबु/काका, दाजुभाइ नै जाने गर्छन् । यसरी पठाइने ‘सनेस’ मा छठमा सूर्यदेवलाई अघ्र्य दिँदा देखाइएको प्रसाद सामग्री मिसाएर पठाइने गरिन्छ । “यो परम्परा कोसेलीमात्रको नभएर मुख्य चाडबाडपछि आपसी भेटघाटको अवसर पनि पूर्वजले बसाएका होलान्”, महोत्तरीकै बलवा नगरपालिकाको भगवतीपुरका शिक्षण पेसाका मनोज मिश्र भन्छन्, “यसमा आशिष पु¥याउने र सम्बन्धको प्रगाढता पनि जोडिएको हुन्छ ।”

मिथिलामा छठ र तिलासक्रायत पर्व सकिएलगत्तै ‘सनेस’ को नाउँमा भेटघाटको निरन्तरता केही दिन चल्ने गर्छ । पर्वको ‘सनेस’ पुग्न ढिलो हुँदा त खासगरी छोरीचेली र मित/मितिनीले बिर्सेकी भन्ने खुलदुली नै लाग्ने गरेको पाका मैथिल बताउँछन् । समयक्रमले अचेल कामको विविधता बढ्दै जाँदा पहिलेपहिले जस्तो घरपरिवेशको झैँ गृहस्थ जीवन फेरिएको छ ।

कामका लागि टाढाटाढा जानुपर्दा पर्व सकिएलगत्तै युवापुस्ता घरमा नहुँदा सकीनसकी यो परम्परा बूढापाकाले धान्नुपरेको भङ्गाहा–४ थारुटोल बनराका ६५ वर्षीय रामधारी सिंह थारु बताउछन् । “पर्व सकिएलगत्तै तीन भाइ छोराहरु काम काममा गए”, थारु भन्नुहुन्छ, “सनेस लिएरमैँ जानुपर्ने हुन्छ ।” अब यो परम्परा कामको चापले आफ्नो पुस्तापछि मेटिँदै (हराउँदै) जाने थारुको अड्कल छ ।

मिथिलामा छठ सकिएको दुई सातासम्म ठकुवा र भुसुवाकै मौसम रहन्छ । घरको खाजामा होस् वा आफन्तलाई पठाउने ‘सनेस’ मा । यसै परम्पराले सिङ्गो मिथिला क्षेत्रमा नै अहिले घरघरैजसो ठकुवा, भुसुवा पकाइँदा र बनाइँदा छन् । रमाइलो थप के हुन्छ भने छिमेकका जेठानी, देउरानी, नाताका बुहारी र अन्य आपस्त (हिमछिम भएका) पनि ठकुवा पकाउन र भुसुवा बटार्न सरिक हुन्छन् ।

ठकुवाका लागि पिठो र मीठा (सख्खर) को खुँदोको मात्रा, भुसुवाका लागि चाहिने मरमसलाको तालमेल मिलाउने सल्लाह र यसै मेसोमा मिथिलानीबीच हुने अन्य हासपरिहास पनि यस कामका रमाइला पक्षका रुपमा पाका मैथिल गृहिणी सम्झन्छन् । “पवनी (पर्व) सकिएकै दिन सानो छोराले ‘सनेस’ छोरीकहाँ पु¥याएर आयो”, घरमा अझै ठकुवा पकाउन र भुसुवा बटार्न व्यस्त रहेकी बर्दिबास नगरपालिका–९ पशुपतिनगरकी दिपियादेवी महतोले भनिन्, “अब ननद (नन्द) र दोस्त (मित) को घरमा जान बाँकी छ, त्यसैमा लागेकी छु ।” पर्वमा घरका परिवारजन, छिमेकी र आफन्तलाई समेत खुवाइने र यी परिकार यसपालि १५ मङ्सिरसम्म नै खाजा खाइने उनको भनाइ छ ।

खासगरी अब जाडो बढ्दै जाँदा सख्खर, घ्यू र गहुँको पिठोबाट बन्ने परिकार खाँदा आङ तात्ने, चिसोका विकार ठीक हुने र काममा फूर्ति आउने मैथिल जनविश्वास छ । यसै विश्वासको परम्पराले पनि बढ्दो जाडोबीच ठकुवा, भुसुवा खाने, खुवाउने प्रचलन मैथिल संस्कृतिको अङ्ग नै बनेको पेसाले शिक्षक रहेकी भङ्गाहा नगरपालिका–७ मेघरोलकी समीक्षासिंह थारु बताउछिन् । अहिले यस क्षेत्रमा आफ्नो सावगासअनुसार सबैजसो घरमा ठकुवा र भुसुवा बनाउन लागि परेका छन् ।

‘सनेस’ पठाउने स्थापित परम्परा र आफ्नै घरको खानपिनमा यो परिकार परेपछि मिथिलामा छठ सकिएका केही दिनसम्म ठकुवा र भुसुवाको मौसम हुने गरेको यहाँका बूढापाका बताउँछन् ।