भेडा मर्न थालेपछि समस्यामा किसान



बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडखानी क्षेत्रमा किसानले पालेका भेडा धमाधम मर्न थालेका छन् । दुई महिनादेखि भेडाले घाँस नखाने, च्यापु सुनिने लगायतका लक्षण देखिएर मर्न थालेपछि ठूलो क्षति भएको स्थानीय भेडापालक किसान यामबहादुर छन्त्यालले बताए । 

दुई महिनामा किसान छन्त्यालका २४ भेडा मरेका छन् । साना पाठापाठीदेखि ठूला भेडाखसी मरेर क्षति पुगेको छन्त्यालले बताए । ठाडाखानीमा पूर्णबहादुर छन्त्यालले समेत १७ भेडा मरेका बताए । यहाँका करिब तीन दर्जन बढी घरमा परम्परागत रुपमा भेडापालन हुँदै आएको छ । 


भेडापालनको पकेट क्षेत्रका रुपमा यहाँ सिद्ध भेडापालन र मालिका भेडा पालन दुई समूहमा आबद्ध भएर भेडापालन गरिँदै आएको छ । भेडा मर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत पशु चिकित्सकको टोली गोठमै पुगेर भेडा बाख्राको स्वास्थ्य जाँच तथा रगतको नमुना सङ्कलन गरेको छ । 

कार्यालय प्रमुख जीवन आचार्यका अनुसार, भेडामा आन्तरिक र बाह्य परजीविको सङ्क्रमणका कारण भेडा मरेको बताए । उनले उपचारका लागि आवश्यक औषधि खरिद गर्न गाउँपालिकालाई आग्रह गरिएको बताए  । “खोरमा भेडापालन भएकाले एउटै ठाउँमा सधैं राखिरहने र खोरको उचित व्यवस्थापन नहुँदा किर्ना, जुकालगायतको समस्या बढी हुने गर्छ, किसानलाई खोरको सरसफाइ र भेडाको उचित हेरविचार गर्न समेत सुझाएका छौँ”, उनले भने ।

भेडापालक किसानको सुविधाका लागि गाउँपालिकाले डिपिङ ट्याङ्कीसमेत निर्माण गरेको तर, त्यसको प्रयोग नगरेका कारण भेडामा रोगको सङ्क्रमण देखिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । उपचारका लागि पशु चिकित्सकले दिएको रिपोर्टअनुसार आवश्यकपर्ने खोपलगायतका औषधि खरिद गर्ने तयारी गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।