काठमाडौँ । स्वीट्जरल्याण्डलाई एक शून्यले पराजित गर्दै ब्राजिलले कतारमा भइरहेको फिफा विश्वकप २०२२ को अन्तिम १६ मा स्थान पक्का गरेको छ ।
स्टेडियमा ९७४ मा सोमबार राति भएको समूह जीको यो खेलमा ब्राजिलका लागि खेलको अन्त्यतिर कासेमिरोले रोड्रिगोको पासमा गोल गरेका थिए ।
त्यसअघि कासेमिरोको पासमा भिनिसियस जुनियरले ६४औं मिनेटमा गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)ले त्यसलाई अफसाइड भन्दै मान्यता दिएन ।
पहिलो खेलमा सर्वियालाई २–० ले पराजित गरेको ब्राजिल लगातार दुई जितपछि समूह जी बाट नकआउट चरणमा प्रवेश गरेको हो । समूहमा एक खेल खेल्न नै बाँकी रहेको ब्राजिल नकआउट चरण पुग्ने दोस्रो टिम बन्यो ।
यसअघि साविक विजेता फ्रान्स समूह डी मा लगातार दुई खेल जितेर नकआउट चरणमा पुगिसकेको छ । यसअघि समूह जी कै खेलमा क्यामरुन र सर्बियाले ३–३ को बराबरी खेलेका थिए ।
दुवै टोलीले अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्नुपरेको थियो । ब्राजिल यस जितसँगै २ खेलमा ६ अंकसाथ समूहको शीर्षस्थानमा उक्लिएको छ ।
स्विटजरल्यान्डको ३ अंक छ भने सर्बिया र क्यामरुनले १–१ अंक जोडेका छन् । अब अन्तिम चरणको खेलमा क्यामरुनले ब्राजिल र सर्बियाले स्विटजरल्यान्डको सामना गर्नेछ ।
स्टेडिमय ९७४ मा भएको खेलमा ब्राजिललाई जित दिलाउन कासिमेरोले निर्णायक गोल गरेका हुन् ।