बैंकको चर्को व्याजविरुद्ध उद्यमी आन्दोलित



मोरङ । बैंकहरुले चर्को व्याजदर निर्धारण गरेर व्यवसायीहरुलाई थप संकट बनाएको जनाउँदै बेलबारीका उद्यमीहरु आन्दोलित भएका छन् ।उनीहरुले आज दिउँसो उच्च बैंक व्याजदर तथा प्रतिकूल बैकिङ नीतिहरुविरुद्ध विरोध प्रदर्शन समेत गरेका छन् । सो प्रदर्शन बेलबारी–३ पुरानो मालपोतबाट सुरु भएर दुर्गा मन्दिर हुँदै राष्ट्रिय वाणिज्य बैंक अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।

बेलबारी उद्योग वाणिज्य सङ्घ र उत्तरी मोरङ होटल व्यवसायी सङ्घको आयोजनामा भएको कार्यक्रममा व्यवसायीहरु प्ले–कार्डसहित नाराबाजी गर्दै विरोधमा उत्रिएका थिए । बैंकले व्याज वृद्धि गर्दा व्यवसायीहरु थला परेको र उठ्नै नसक्ने गरी बोझ थपिएको बेलबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेशजङ्ग कार्कीले बताए । बैंकहरुले बढाएको व्याज तत्काल फिर्ता लिन र व्यवसायीहरुलाई सहज किसिमले व्यवसाय गर्ने वातावरण मिलाउन पर्यटन व्यवसायी विजय सुवेदीले आग्रह गरे ।