पार्टीको निर्णय नमान्ने ७४ नेता कार्यकर्तालाई कांग्रेसले ग-यो निष्काशन



काठमाडाैँ । नेपाली कांग्रेसले पार्टीका ७४ जना नेता कार्यकर्तालाई कारबाही गरेको छ ।

आगामी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएकालाई कारबाही गरिएको अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले आज जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।


नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि ती नेता कार्यकर्तालाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ । ती नेता कार्यकर्तालाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिएको छ ।

बागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाको नामावलीसमेत अभिलेखबाट हटाइने पार्टीले जनाएको छ । त्यस्ता नेता, कार्यकर्ताको सूचना तत्काल केन्द्रीय अनुशासन समितिमा पठाइदिन समेत निर्देश गरिएको संयोजक ढुङ्गानाले बताए ।