काठमाडौँ । पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । बुधबार दशरथ रङ्गशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई एक–शून्य गोलले हरायो । नेपालको जितमा अञ्जन विष्टले गोल गरे ।
उनले खेलको ८३ औँ मिनेटमा गोल गरे । अञ्जनले सुनिल बलको क्रस पासमा गोल गरेका हुन् । उनको यो ११ औँ अन्तर्राष्ट्रिय गोल हो । गोल गरेपछि खुसीयाली मनाउने क्रममा अञ्जनले जर्सी फुकालेपछि रेफ्रीले पहेँलो कार्ड देखाएका थिए ।
विश्व फुटबल महासङ्घ (फिफा) ले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रूपमा नेपालसँग खेलेको हो । योसँगै नेपाल र पाकिस्तानबीच अहिलेसम्म १८ वटा खेल भएको छ । जसमा पाकिस्तानले सात र नेपालले छ खेल जित्दा पाँच खेल बराबरीमा टुङ्गिएको छ ।