पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार



पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सत्तारुढ गठबन्धनको विरोधमा निकालिएको लङ मार्चका क्रममा कन्टेनर नजिकै गोली चल्दा घाइते भएका छन् । हकीकी मार्च वजीराबाद प्रवेश गर्ने क्रममा यो घटना भएको हो ।

गोली चलेपछि मार्चका क्रममा भागदौड मच्चिएको थियो । कन्टेनरमा सवार पीटीआईका नेतासहित सबै आत्तिएका थिए । एआरवाई न्यूजका अनुसार गोली चल्दा प्रदर्शन जफराली खान चोक नजिकै पुगेको थियो । पूर्व प्रधानमन्त्री खानको लङ मार्च कन्टेनर नजिकै गोली चल्दा उनीसहित अन्य पाँच जना घाइते भएको स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमले गोली काण्डमा पाँच जना घाइते भएको जानकारी दिएका छन् ।


गोली लागेर घाइते भएकाहरुलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको प्रहरीले जनाएको छ । एआरवाई न्यूजले स्रोतलाई उद्धृत गर्दै आक्रमणमा सम्लग्न आरोपित एक जनाको मृत्यु भएको छ भने एक जनालाई हिरासतमा लिइएको जनाएको छ । घाइते पूर्व प्रधानमन्त्रीसहित सबैको अवस्था खतरामुक्त रहेको बताइएको छ ।