निर्वाचन परिणामपछि रिपब्लिकनहरूद्वारा ट्रम्पको आलोचना



अमेरिकामा गत साता भएको मध्यावधि चुनावपछि माथिल्लो सदन सिनेटमा डेमोक्रेटिक दलले आफ्नो बहुमत कायम राख्ने भएपछि रिपब्लिकन दल भित्र पुनः आरोपप्रत्यारोप देखिएको छ । पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पका आलोचकहरूले उनको खराब प्रदर्शनलाई हारको कारण ठहराएका छन्।

अन्य रिपब्लिकनहरूले भने सिनेटमा उनीहरूको नेतृत्व गर्ने मिच मकोनललाई दोष दिएका छन् । यसैबीच ह्वाइट हाउसले भने राष्ट्रपति जो बाइडनले आगामी चुनावमा पुनः उम्मेदवारी दिनसक्ने बारे बलियो सङ्केत दिएको छ ।


अमेरिकी तल्लो सदनको लागि भएको निर्वाचनमा भने अन्तिम नतिजा स्पष्ट भैसकेको छैन । अमेरिकी कंग्रेसको तल्लो सदनमा रिपब्लिकनहरू जित्ने आकलन गरिएको छ जसले राष्ट्रपति जो बाइडनको योजनाहरूलाई गम्भीर रूपमा असर पार्छ।

तर मतगणना जारी रहँदा उनीहरूले पहिले अनुमान गरे अनुसार प्राप्त गर्ने ठानेका बहुमतको अपेक्षा भने साँघरिँदै जाने सम्भावना छ । अघिल्लो साताको अन्त्यमा अमेरिकी समाचार नेटवर्कहरूले डेमोक्रेट दलले एरिजोना र नेभाडामा दुई वटा सीटहरू जितेसँगै माथिल्लो सदन सिनेटमा नियन्त्रण कायम राख्ने प्रक्षेपण गरेका थिए ।

ट्रम्पका सहयोगीहरू आगामी दिनमा उनको विरुद्धमा उभिन्छन् की उभिँदैनन् भन्ने कुरा नै वास्तविक परीक्षा हुनेछ । ह्वाइट हाउसमा नियन्त्रण राख्ने दलले सामान्यतया मध्यावधि चुनावमा सीटहरू गुमाउँदै आएको इतिहास छ। र, डेमोक्रेटिकहरूको यो चुनावी परिणाम २० वर्ष यता सत्ताको नेतृत्व गरिरहेको दलले ल्याएको सबैभन्दा राम्रो नतिजा हो ।

यदि बाइडनले उम्मेदवारी दिए भने उनको चुनावी प्रतिस्पर्धा सन् २०२० मा जस्तै ट्रम्पसँग हुने सम्भावना छ। ट्रम्पले सन् २०२४ को लागि आफ्नो उम्मेदवारी मङ्गलबार औपचारिक रूपमा घोषणा गर्ने अनुमान गरिएको छ।