निर्वाचनमा खटिने मतदान एवं सहायक अधिकृतलाई तालिम



डुम्रे । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार र आइतबार गरी दुई दिन तालिम प्रदान गरिएको छ । मतदान केन्द्रमा खटिने छ सय १० मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको हो ।

शनिबार निर्वाचन क्षेत्र नं १ मा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा तालिम प्रदान गरिसकिएको छ भने आज निर्वाचन क्षेत्र नं २ को भानुभक्त बहुमुखी क्याम्पसमा तालिम सञ्चालन गरिएको छ ।


प्रदेश निर्वाचन कार्यालय पोखराले आयोजना गरेको दुई दिने तालिमपछि कर्मचारीलाई निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाको एक सय ४२ वटा मतदानस्थलमा तीन सय पाँच मतदान केन्द्र रहेका छन् । चुनावमा गर्नुपर्ने सबै कामका विषयमा जानकारी दिएर उनीहरूलाई मतदान केन्द्रमा खटाइने जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए ।

प्रत्यक्षतर्फ र समानुपातिक उम्मेदवारका लागि मत राख्ने तरिका, भीड नियन्त्रण, मसी लगाउने, नाम रुजु गर्ने, दोहो¥याएर मत हाल्न आएमा अपनाउनुपर्ने तरिका, मतदाताले गोप्य रूपमा मतदान गर्न पाउने मताधिकारलाई सुरक्षित तबरबाट प्रयोग गर्ने विषयमा प्रशिक्षण दिइएको उनले बताए । ढकालका अनुसार मङ्सिर १ गते सबै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मी र कर्मचारी खट्नेछन् ।