झापा १ ले मुलुकको नेतृत्व गर्छ : महामन्त्री शर्मा



झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नं १ ले मुलुकको नेतृत्व गर्ने बताएका छन् । झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका उनले चुनावी अभियानका क्रममा मेचीनगर–६ नवप्रवेशी कार्यकर्तालाई स्वागत गर्दै त्यस्तो बताएका हुन् । सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५० जना कांग्रेसमा प्रवेश गरेका थिए ।

“मुलुकको नेतृत्व झापा क्षेत्र नं १ ले गर्छ”, उनले भने, “त्यसका लागि गठबन्धनका उम्मेदवारलाई विजय गराउन म अपिल गर्छु ।” चुनावी अभियानकै क्रममा नयाँ कार्यकर्तालाई स्वागत गर्न पाउँदा गठबन्धनलाई थप ऊर्जासँगै सफलता मिलेको उल्लेख गरे । “झापा क्षेत्र नम्बर १ का समग्र जनताको भावनामाथि कहिले कुठराघात गर्दिनँ”, उनले भने, “यहाँको विकासका लागि जहिल्यै प्रतिबद्ध छु÷ रहनेछु ।”


झापा क्षेत्र नम्बर १ लोकतान्त्रिक–वाम गठबन्धनले घरदैलो अभियानलाई तीव्र पारेको छ । झापा क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनअन्तर्गत प्रत्यक्षतर्फ प्रतिनिधिसभामा सदस्यमा शर्मा, प्रदेशसभामा गोपाल तामाङ र श्यामविर लिम्बू चुनावी मैदानमा छन् ।