झापामा एमालेको दुई स्थानमा अग्रता



झापा । आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा झापामा नेकपा (एमाले)का अध्यक्ष ओलीसहित अर्का उम्मेदवार देवराज घिमिरे अग्रस्थानमा छन् भने नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र पार्टीका उम्मेदवारले एक/एक ठाउँमा अग्रस्थान बनाएका छन् ।

क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता लिएका छन् भने क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का देवराज घिमिरे तथा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अग्रता कायमै छ ।


क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिएका छन् भने झापा क्षेत्र नम्बर ४ मा स्वतन्त्र पार्टीका उम्मेदवार शम्भु ढकालले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले १३ हजार आठ सय ५० मत प्राप्त गर्दा एमालेका अग्नि खरेलले आठ हजार ६ सय ४९ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर २ मा एमालेका घिमिरेले नौ हजार दुई सय २५ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले आठ हजार एक सय १६ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले पाँच हजार दुई सय ६५ मत प्राप्त गर्दा कांग्रेसका कृष्णप्रसाद सिटौलाले तीन हजार सात सय ८८ मत प्राप्त गरेका छन्।

क्षेत्र नं ४ मा घण्टी स्वतन्त्र पार्टीका शम्भु ढकालले छ हजार आठ सय ७९ मत प्राप्त गर्दा एमालेका लालप्रसाद सावाले छ हजार चार सय ९५ मत प्राप्त गरेका छन् ।

त्यस्तै क्षेत्र नम्बर ५ मा एमालेका अध्यक्ष ओलीले १३ हजार दुई सय ७८ मत प्राप्त गर्दा कांग्रेसका खगेन्द्र अधिकारीले सात हजार सात सय पाँच मत प्राप्त गरेका छन् ।