पोखरा । गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार मन्त्री आचार्यलाई बर्खास्त गरेका हुन् । बर्खास्त गरिएको जानकारी प्रदेश प्रमुखकहाँ पठाइएको छ । उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैँले राखेका छन् ।
उनीमाथि गोरखा– २ मा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध लागेको आरोप छ । त्यही कारण संघबाट गठबन्धनका नेताको निर्देशन आएपछि मन्त्री आचार्यलाई बर्खास्त गरिएको बताइएको छ । मन्त्री आचार्य गोरखा २ (क) बाट तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित भएका थिए ।
उनी त्यही फेरि उम्मेदवार बन्न चाहन्थे । तर, टिकट नपाएपछि उनी नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईसँग रुष्ट थिए । गोरखा २ मा नेसपाका फणीन्द्र देवकोटाले गठबन्धनबाट टिकट पाएका छन् ।