गठबन्धन १५ वर्षसम्म कायम रहन्छ : प्रधानमन्त्री देउवा



वीरेन्द्रनगर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन अझै १५ वर्षसम्म कायम रहने बताएका छन् । आज पूर्वी सुर्खेतको मेहलकुनामा आयोजित गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै उनले देशको शान्ति र समृद्धिका लागि गरिएको गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन सुर्खेतका मतदातामाझ आग्रह गरे ।

प्रधानमन्त्री देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको संसद् विघटन र प्रतिगमनकारी कदमविरुद्ध बनेको गठबन्धन भएकाले देश र समृद्धिका लागि गठबन्धन आवश्यक रहेको उल्लेख गरे । “ओलीजीले दुई पटक संसद् विघटन गर्नुभयो । संविधानको अङ्ग भङ्ग गर्ने काम गर्नुभयो, हामी संसद्को पूर्ण कार्यकाल राख्न चाहन्छौँ” उनले भने, “माननीयहरूले आलोचना गर्ने बित्तिकै ओलीको जसरी संसद् विघटन गर्दैनौँ ।” प्रधानमन्त्री देउवाले संविधानको रक्षा र गणतन्त्रको संस्थागत हितका लागि गठबन्धनले निर्वाचन जित्न आवश्यक रहेको औँल्याए ।


सोही कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीको अहंकारका कारण वाम गठबन्धन टुटेको बताए । “अब धोकेबाजसँग कुनै समीकरण हुँदैन”, उनले भने, “गिरिजाप्रसाद कोइरालासँगै मैले १२ बँुदे सम्झौतामा हस्ताक्षर गरेर जोडेको गठबन्धन हो, यो चुनावसम्म मात्र होइन लामो समयसम्म कायम रहन्छ ।” अ

ध्यक्ष दाहालले गठबन्धन १५ वर्ष जाने र देशमा शान्तिको नयाँयुगको सुरुआत हुने बताए । उनले भने, “यो गठबन्धन संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी रहेका कामलाई अगाडि बढाउनका लागि गरिएको गठबन्धन हो ।” देशमा राजनीतिक परिवर्तन अनुकूल आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहने पनि उनले बताए ।