गठबन्धनको सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन र भिजन छैन : केपी ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन र भिजन नभएको बताएका छन् ।

शनिबार प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको काठमाडौंमा उद्घाटन गर्दै अध्यक्ष ओलीले स्वार्थहरुको गठजोठबाट बनेको वर्तमान सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन, भिजन र गन्तव्य नभएको बताएका हुन् । उनले आगामी निर्वाचनपछि यस्तो सरकार बन्न दिन नहुने बताए ।


ओलीले भने, ‘दिशाहिन सरकार बनार देशलाई बर्बाद पार्ने कि भिजनसहितको ठोस गन्तव्य र गन्तव्यमा पुग्ने मार्गचित्र भएको पार्टीलाई जिताउने ?’ 

उनले देशलाई बर्बादी हुन नदिन पनि आगामी निर्वाचनमा नेपाली जनताले यस्तो सरकारको विकल्प खोज्नुपर्ने बताए । ओलीले भने,‘स्वार्थले बनेको कठपुतली सरकार हो । स्वभिमान नभएको कठपुतली सरकार हो यो । यो अहिलेको गठबन्धन रियल्ली डेड हो । तर, यो क–कसले पम्पिङ गरिरहेको छ । ६ तिर मुख फर्किएको छ । चिउँडोले चपाइराखेका छन् । खन्चुवा, नीति, थीतिहिन गठबन्धन हो । दे ह्याभ अलरेडी डेथ ।’

गठबन्धनले जनमत पाए लुटतन्त्र मच्चीने र देश कंगाल हुने बताए । ओलीले भने, ‘देशमा ५० औँ अर्व घाटा छ । निर्वाचनमा पैंसा बाड्ने काम भयो ।’

उनले विगतमा आफू सरकारमा हुँदा राम्रो काम गर्दागर्दै पनि आफूलाई हटाइएको बताए । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई संकेत गर्दै नाकाबन्दी र उत्तरी छिमेकी देशसँगको सम्झौता गरेपछि आफूलाई हटाएको आरोप लगाए।