काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते निर्वाचनमा उत्साहजन सहभागिता जनाउन आव्हान गरेका छन् । बिहीबार भिडियो सन्देशमार्फत प्रधानमन्त्रीले निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्ने हाम्रो दायित्व भएकाले अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँदैं मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्ने दायित्व भएको बताएका छन् ।
देउवाले जहानीय राणा शासनदेखि अहिलेसम्म मुलुकले राजनीतिक संघर्षको एउटा चरण पुरा गरिसकेको भएपनि मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्ने जिम्मेवारी बाँकी रहेको बताए ।
नेपाली कांग्रेस मुलुकमा भएका हरेक राजनीतिक, सामाजिक आन्दोलनको नेतृत्व गरेको पार्टी भएको भन्दै अब मुलुकलाई समृद्धितर्फ अगाडी बढाउने जिम्मेवारी पनि कांग्रेस रहेको उल्लेख गरे ।
प्रधानमन्त्री देउवाले युवाहरुको योग्यता, क्षमता र ज्ञानको कदर हुने गरी आगामी दिनमा नयाँ सोचका साथ अगाडी वढ्ने भन्दै शासन प्रणालीलाई आधुनिक बनाउँदै सरकारी सेवालाई चुस्त, दुरुस्त पार्ने परिपाटीको बिकास गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
दुई पटकसम्म संसद विघटन भएपछि देशमा अन्यौलता आएकै कारण सहमति र सहकार्यको आधारमा गठबन्धन सरकार गठन भएकोले त्यही सुत्रका आधारमा मुलुकलाई अगाडी बढाउन गठबन्धन दृढ संकल्पित रहेको स्मरण गराउँदैं आगामी मंसिर ४ गते प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवारलाई र समानुपातिकतर्फ नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गर्न अपील गरे ।