खुमबहादुर खड्का छोरा अनुराग दाङ–१ (ख) बाट निर्वाचित



दाङ । दाङ निर्वाचन क्षेत्र नं १ (२) प्रदेशसभा सदस्यमा नेपाली काङ्ग्रेसका अनुराग खड्का निर्वाचित भएका छन् । उनले नेकपा (एमाले)का उम्मेदवार कुलबहादुर केसीलाई तीन हजार ५२ मतान्तरले पराजित गरेका हुन् । विजयी खड्काले १६ हजार दुई सय २२ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी केसीले १३ हजार एक सय ७० मत पाएको निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिए । त्यस्तै नागरिक उन्मुक्ति पार्टीका भक्तिराम चौधरीले पाँच हजार एक सय ३९ मत पाए ।

निर्वाचित खड्काले जनताले दिएको मतको कदर गर्दै समग्र दाङको विकासमा आफूले खटेर काम गर्ने बताउ । उनले भने, “एउटा कलिलो युवकलाई यति धेरै विश्वास गर्दिनुभयो, म यो विश्वासलाई आत्मसात् गरेर अगाडि बढ्ने छु ।” दाङ–१ मा जम्मा एक लाख ३४ हजार सात सय ३३ मतदातामध्ये प्रदेश (१) मा ४० हजार एक सय छ र प्रदेश (२) मा ३८ हजार पाँच सय ९२ गरी कुल ७८ हजार छ सय ९८ मत खसेको थियो ।


निर्वाचित खड्का नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काका छोरा हुन् ।