कास्की । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ को प्रदेशसभा सदस्य (२) बाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाश बराल विजयी भएका छन् ।
गत आइतबार सम्पन्न निर्वाचनको आज बिहान घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार कांग्रेसका नेता बराल १२ हजार तीन सय ६७ मत प्राप्त गरी गण्डकी प्रदेशसभामा निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिद्धन्द्वी नेकपा (एमाले)का राजीव पहारीले ११ हजार नौ सय दुई मत प्राप्त गरे । बराल र पहारीको मतान्तर चार सय ६५ रहेको छ । पहारी विसं २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएका थिए ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिराम भण्डारीले दुई हजार पाँच सय ६०, मङ्गोल नेशनल अर्गनाइजेशनका मनतोष घलेले चार सय ७२, जनता समाजवादीका गोरे दमैले दुई सय ९५ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी)का रामवृक्ष धोवीले एक सय १७ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सो क्षेत्रमा छ जना उम्मेदवार रहेका थिए । कास्की क्षेत्र नं ३(२) मा कुल मतदाता ४८ हजार आठ सय ५३ रहेकामा निर्वाचनमा २८ हजार सात सय ७९ मत खसेको थियो । एक हजार ६६ मत बदर हुँदा सदर मत २७ हजार सात सय १३ रहेको छ ।