मतदाता बोकेका एक जीप पाकिस्तान–नियन्त्रित काश्मिर (पीओके) को नीलम उपत्यकामा नालामा खस्दा ६ जनाको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भएका छन् । यस घटनामा परी मृत्यु हुनेमा ६ जना महिला रहेका प्रहरीले जनाएको छ ।
दुधनियालको छारी इलाकामा आइतबार दिउँसो करिब १२ः३० बजे जीप तीन सय फिट गहिरो सुख्खा नालामा खसेको जिल्ला विपद् व्यवस्थापन अधिकृत अख्तर अयुबले बताए । गाडीले आफ्नो क्षमता भन्दा धेरै मानिसहरू बोकेको अयुबले थप जानकारी दिए ।
दुर्घटनामा घाइते भएकाको अवस्था पनि गम्भीर रहेको बताइएको छ । यात्रुहरु निलम खोलाको छेउमा रहेको ठाण्डा पानी गाउँका बासिन्दा रहेका र नजिकैको मतदान केन्द्रमा आएका थिए ।
घाइतेहरूलाई दुधनियाल आधारभूत स्वास्थ्य इकाईमा लगिएको थियो । पाँचजना गम्भीर घाइते भएकाले थप उपचारका लागि मुजफ्फराबाद पठाइएको थियो ।