काठमाडौँ । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र काठमाडौंको पाँचतारे होटल याक एण्ड यतिबाट सार्वजनिक गरेको छ ।
विगतमा आफ्नै कार्यालय वा अन्य सार्वजनिक सभा हलहरूबाट घोषणापत्र सार्वजनिक गर्दै आएको एमालेले यसपटक दरबारमार्गस्थित पाँचतारे होटलबाट सार्वजनिक गरेको हो ।
घोषणापत्र सार्वजनिक कार्यक्रममा एमालेले नेपालको सन्दर्भमा नौलो प्रयोग गरेको छ । एमालेले भिडियोमार्फत घोषणापत्र सार्वजनिक गरेको छ भने घोषणापत्र सार्वजनिक गरेलगत्तै संवाद कार्यक्रम गरेको छ ।
संवाद कार्यक्रमलाई ‘ओलीसँग लाइभ डिबेट’ नाम दिएको एमालेले उक्त डिबेट सञ्चालन चर्चित बैंकर अनिल केशरी शाहले गरेका छन् । घोषणापत्र सार्वजनिक कार्यक्रमको सञ्चालन भने मिस नेपाल सदीक्षा श्रेष्ठले गरेकी छन् ।