उत्तर कोरियालाई विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति बनाउने किमको दावी



उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देश विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बन्ने लक्ष्य राखेको बताएका छन् । प्योङयाङले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको र यो अमेरिकी मुख्य भूमिमा पुग्न सक्ने विश्वास गरिएको उत्तर कोरियाली अधिकारीले दावी गरेका छन् ।

नेता किमले ह्वासोङ–१७ को सफलताका लागि १०० भन्दा बढी सम्बन्धित अधिकारी र वैज्ञानिकलाई पदोन्नति पनि गरेका छन् । नयाँ आईसीबीएमलाई ‘विश्वको सबैभन्दा बलियो रणनीतिक हतियार’ भन्दै किमले उत्तर कोरियाली वैज्ञानिकले ब्यालेस्टिक क्षेप्यास्त्रमा आणविक हतियार राख्ने प्रविधिको विकासमा आश्चर्यजनक फड्को मारेको बताएका छन् ।


राज्य र जनताको गरिमा र सार्वभौमिकताको रक्षाका लागि आणविक शक्तिको निर्माण गर्नु ‘सबैभन्दा ठूलो र सबैभन्दा महत्वपूर्ण प्रगतिको कारण हो, र यसको अन्तिम लक्ष्य विश्वको सबैभन्दा शक्तिशाली रणनीतिक शक्ति बन्नु र यस शताब्दीमा अभूतपूर्व पूर्ण शक्तिलाई कब्जा गर्नु हो,” किमलाई उद्धृत गर्दै केसीएनएले उल्लेख गरेको छ ।

वैज्ञानिकहरूले प्योङयाङको ‘विश्वको सबैभन्दा बलियो सेना निर्माण गर्ने लक्ष्य’ विश्वसामु प्रदर्शन गरेको किमले बताउनुभयो । नयाँ ह्वासोङ–१७ आइसिबीएमको लन्चिङ भेहिकललाई ‘उत्तर कोरियाको हिरो’ को उपाधि प्रदान गरिएको केसीएनएको रिपोर्टमा उल्लेख छ ।

‘यसले उत्तर कोरिया पूर्ण आणविक शक्ति हो भन्ने कुरा विश्वसामु स्पष्ट रुपमा प्रमाणित गरेको छ,’ प्रतिवेदनमा भनिएको छ । रिपोर्टमा थप भनिएको छ, “उत्तर कोरियाले सबैभन्दा शक्तिशाली आईसीबीएम राष्ट्रको रूपमा आफ्नो शक्ति प्रदर्शन गरेको छ ।”

कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका होङ मिनले ह्वासोङ–१७ को परीक्षणलाई उत्तर कोरियाले आफुलाई प्रमुख आणविक शक्तिका रूपमा स्थापित गर्ने उद्देश्यले गरेको बताए । “यदि सन् २०१७ मा ह्वासोङ–१५ को प्रक्षेपण आणविक हतियारले अमेरिकी मुख्य भूमिलाई खतरामा पार्न सक्ने राष्ट्र बन्नमा केन्द्रित थियो भने पछिल्लो क्षेप्यास्त्र सबैभन्दा शक्तिशाली आईसीबीएम राज्य बन्नमा केन्द्रित छ,”उनले थपे ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् २००६ यता उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र गतिविधिका कारण उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने झण्डै एक दर्जन प्रस्ताव पारित गरिसकेको छ । तर उत्तर कोरियाले प्रतिबन्धको वेवास्था गर्दै आफ्ना आणविक कार्यक्रमलाई निरन्तरता दिँदै आएको देखिन्छ ।