अख्त्यिारले स्वतन्त्र न्यायपालिकाको अवधारणामाथि आँच पुर्याएको बारको निष्कर्ष



काठमाडौँ । नेपाल बार एशोसिएसनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतको न्यायिक स्वतन्त्रतामाथि आघात पुर्याएको बताएको छ ।

विशेष अदातलले फैसला गरेका मुद्दाहरुको पुनरावेदनका लागि अख्तियार सर्वोच्चमा गएको विषयमा जानकारी दिन गरेको पत्रकार सम्मेलनमा बारले अख्तियारले न्यायिक स्वतन्त्रतामा आघात पुर्याएको बताएको हो ।


आयोगले गत मंगलबार ‘चालु आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका मुद्दाहरुमा आयोगको चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरुको सम्बन्धमा पत्रकार सम्मेलन गरी असन्तुष्टि जनाएको थियो ।

पत्रकार सम्मेलनमा अख्तियारले विशेष अदालतले फैसला गरेका १२४ वटा मुद्दामा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको जानकारी गराएको थियो । बार एशोसिएसनका कार्यबाहक अध्यक्ष हर्कबहादुर रावलले आयोगले न्यायालयप्रति आक्षेप लाग्ने भाषा र शैलीको प्रयोग गरेको बताए ।

उनले आयोगले आफ्नो अधिकार क्षेत्रको उल्लंघन गर्दै स्वतन्त्र न्यायपालिकाको अवधारणामाथि आँच पुर्याएको बताए । उनले आयोगले संविधान र कानूनले निर्दिष्ट गरेको प्रक्रिया अनुरुप सम्बन्धित निकायमार्फत न्यायिक निरुपण गर्न सकिने विषयलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको बताए ।