काठमाडौँ । नेपाली काँग्रेसले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुराको मतगणना सुरु गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
मंगलबार नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा क्षेत्र नम्बर-२ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेल लगायतको टोली निर्वाचन आयोग पुगेर स्याङ्जा २ को मतगणना शुरु गर्न आग्रह गरेको हो ।
त्यस्तै बाजुराको पनि मत गणना गर्न आग्रह गरिएको छ । काँग्रेस नेताहरुले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुलाई भेट गरी मतगणना शुरु गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
प्रमुख निर्वाचन आयुक्तसँगको भेटपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै काँग्रेसका वरिष्ठ नेता पौडेलले आयोगलाई तुरुन्त मतगणना कार्य शुरु गर्न आग्रह गरिएको जानकारी दिए ।
उनले स्याङ्जा २ मा विधिवत रुपमा निर्वाचन सम्पन्न भएको भन्दै मतगणना रोक्नु आवश्यक नभएको बताए । निर्वाचनको समय अवधिभर कुनैपनि घटना नघटेको जिकिर गर्दै पौडेलले छानबिन समिति गठन गर्नु गलत भएको बताए ।
उनले बाजुरामा पनि तुरुन्त मतगणना गर्नुपर्ने बताए । स्याङ्जा २ मा मृतकका नाममा मत हालिएको भन्दै नेकपा एमालेले पुनः मतदान गर्न माग गर्दै आएको छ । जसका कारण त्यहाँ मतगणना हुन सकेको छैन ।