सुकुम्बासी र प्रहरीबीच झडप, महानगर प्रहरी प्रमुखसहित १४ जना घाइते



काठमाडौँ । थापाथलीस्थित वाग्मती नदी किनारमा सुकुम्बासी बस्तीका स्थानीय र महानगर प्रहरीबीच झडप परेको छ ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र महानगरको टोली बस्तीमा एक्स्काभेटर लिएर घर टहरा भत्काउन पुगेपछि स्थानीय र महानगर प्रहरीबीच झडप हुँदा महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १४ जना घाइते भएका छन् ।


प्रहरी परिचालन गरेर हटाउन खोजेपछि खुकुरी, इँटा र ढुंगासहित स्थानीयहरुले प्रतिकार गर्नुका साथै मेयर बालेन शाहविरुद्ध चर्को नाराबाजी गरेका छन् । 

उनीहरूले ‘बालेन शाह होस् गर, हाम्रो भोट फिर्ता गर । मरे चिहान बाँचे घर, एकता नै हाम्रो भर, गरिब मार्न पाइँदैन । गृहमन्त्री मुर्दावाद, काठमाडौं महानगरपालिका मुर्दावाद’जस्ता नारा लगाउँदै विरोध गरिरहेका छन्

स्थानीयले ढुंगामुढा प्रहार गर्दा नगर उपरीक्षक पाण्डेसहित १४ जना प्रहरी घाइते भएको काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए । घाइतेहरूको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।