सिरियामा जारी हिंसाप्रति राष्ट्रसङ्घीय प्रमुखको चासो



संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले सिरियामा पछिल्ला केही दिनयता जारी रहेको हिंसाप्रति चासो व्यक्त गरेका छन् ।

उनले केही दिनयता सिरियाका विभिन्न भूभागमा हिंसात्मक हमला भएर केही व्यक्तिको ज्यान गएको तथा कैयौँ व्यक्ति विस्थापित हुन पुगेका घटनाप्रति चासो व्यक्त गरेका प्रवक्ता स्टेफान डुजारिकले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।


महासचिव गुटरेसले यस्तो आक्रमणलाई रोकी सबै पक्षले शान्ति र संयम अपनाउन आग्रह पनि गरेका छन् । केही दिनयताको हमलाबाट उत्तरपूर्वी सिरियाली नगर इडलिबका कैयौँ मानिस विस्थापित हुन पुगेका पनि बताइएको छ ।

यसवर्ष उत्तरी सिरियामा मात्र एक सय २१ जनाको यस्तै आक्रमणबाट ज्यान गएको छ भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । यहाँका ४० लाखभन्दा बढी व्यक्ति सो हिंसात्मक हमलाबाट प्रभावित भएका छन् ।

उनीहरुमध्ये अधिकांश बालबालिका र महिला रहेका छन् । उनीहरुलाई अहिले संयुक्त राष्ट्रसंघीय सहायता प्रदान गर्ने गरिएको छ ।