सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी हुन आग्रह



विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सबै राजनीतिक दलहरू सहभागी हुन अनुरोध गरेका छन् । निर्वाचन तयारी सम्बन्धमा नेपाल पत्रकार महासंघ मोरङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचनले नै देशको भविष्य निर्माण गर्ने भएकाले आफ्ना मत प्रतिनिधि छान्न निर्वाचनमा सहभागी हुन आग्रह गरे ।

केही राजनीतिक दलहरू निर्वाचनमा सहभागी नहुने सूचनालाई आधार मानेर प्रजिअ दाहालले भने, ‘सबैको अभिमत प्रकट गर्ने निर्वाचनलाई भरपूर सदुपयोग गर्नुपर्छ । केही महिनाअघि सम्पन्न भएको स्थानीय तहको निर्वाचनले हामीलाई धेरै पाठ सिकाएको छ, निर्वाचनलाई भयरहित, स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण वातावरणमा सम्पन्न गरिन्छ ।’


निर्वाचनमा आममतदातालाई सुरक्षाप्रति विश्वस्त रहन आग्रह गर्दै निर्वाचनका निम्ति मोरङमा नेपाली सेना, जनपद प्रहरी, म्यादी प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । उनले भारतको किसनगञ्ज र अररियासँग जोडिएकाले सीमा क्षेत्रमा भारतका सीमा सुरक्षा बलबाट राम्रो सहयोग पाएको र सीमा क्षेत्रमा दुवै देशका प्रहरीबाट गस्ती भइरहेकाले निर्वाचनमा कुनै पनि घटना हुन नदिने विश्वास दिलाए ।

सो अवसरमा मोरङका प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले कूल सात लाख ३५ हजार पाँच सय २५ मतदाता रहेका यस जिल्लामा तीन सय ३९ मतदानस्थल आठ सय ३९ मतदान केन्द्र रहेको जानकारी दिए । उनले जिल्ला कारागारमा दुई सय एक कैदीबन्दीका लागि एक र अर्को आदर्श पुस्तकालयमा निर्वाचनमा नखटिने दुई हजार पाँच सय ९५ कर्मचारीका लागि अस्थायी मतदान केन्द्र स्थापना गरिएको बताए । निर्वाचनमा कूल राष्ट्रसेवक कर्मचारी छ हजार सात सय १२ जना र स्वयंसेवक पाँच सय ६३ जना खटाइएको छ ।

अहिलेसम्मको तयारीअनुसार निर्वाचन भयरहित, शान्तिपूर्ण, स्वतन्त्र एवं धाँधलीरहित हुने विश्वास व्यक्त गर्दै उनले मतदाता धेरै मतदान केन्द्र साँघुरो रहेको स्थानमा अनुभवी मतदान अधिकृत र कर्मचारी परिचालन भएकाले कुनै बाधा वा समस्या नआउने विश्वास व्यक्त गरे । मोरङमा सबैभन्दा बढी मतदाता भएको केन्द्रमा केराबारी गाउँपालिका–६ स्थितका कालापानी सामुदायिक वन उपभोक्ता समिति याङशिला केन्द्रमा एक हजार ७६ र सबैभन्दा कम धनपालथान गाउँपालिका–७ स्थित सर्वोदय मावि मुसहरी छेउटोल केन्द्रमा तीन सय ९० मतदाता छन् ।

बालिका माध्यमिक विद्यालय शहीद रङ्गशाला, विराटनगर–७ मा नमूना मतदानस्थल बनाइएको छ भने यस पटक निर्वाचन क्षेत्र नं १ का मतगणना उर्लाबारी नगरपालिकाको कार्यालयमा, २ को रतुवामाई नगरपालिकाको विश्वनाथ मन्दिरमा, ३ को बेलबारी नगरपालिकाको भगवती माविमा ४, ५ र ६ को आदर्श मावि विराटनगर हुने प्रमुख निर्वाचन अधिकृत ढुङ्गेलले बताए । सञ्चारकर्मीलाई निर्वाचनको सूचना प्राप्त गर्न आदर्श माविमा सूचना सेन्टर स्थापना भएको छ भने सबै मतगणनास्थलको सुरक्षाको उचित प्रबन्ध मिलाएको प्रमुख निर्वाचन अधिकृत ढुङ्गेलले जानकारी दिए।