सन्दीपविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुने



काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा बिहीबार पनि काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस हुने भएकाे छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बुधबार थुनछेक बहस नसकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । 

बुधबार बहस नसकिएको हुनाले आज पनि बहस हुन लागेकाे हाे । हिजाे निवेदकको तर्फबाट चार जना सरकारी वकिलसहित ७ जनाले बहस गरेका थिए भने सन्दीपको तर्फबाट भने दुई जनाले बहस गरेका थिए ।


नेपाल सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ताहरु लक्ष्मण उपाध्याय घिमिरे, महेश प्रसाद खत्री, कृष्णा भण्डारी, सहायक जिल्ला न्यायाधीवक्ता सुरविर परियारले बहस गरेका थिए । त्यसैगरी वादीकै तर्फबाट वरिष्ठ अधिवक्ताद्वय शशी अधिकारी र सुनिता रेग्मी तथा अधिवक्ता शान्ति काफ्लेले बहस गरेका थिए । 

यता सन्दीपको तर्फबाट अधिवक्ताद्वय मुरारी सापकोटा र रोशनी पौडेलले बहस सकेका छन् । आजको बहसमा वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, लवप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सबिता बराल भण्डारी लगायतले बहस गर्ने तयारी गरिएको छ ।