शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ : प्रजिअ उपाध्याय



काठमाडाैँ । सङ्घीय राजधानी काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान शान्तिपूर्ण भइरहेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार सबै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । उनका अनुसार काठमाडौँको सुरक्षा व्यवस्था चुस्त र दुरुस्त बनाइएको छ ।

प्रजिअको नेतृत्वमा अनुगमन टोलीले बिहानैदेखि मतदान केन्द्रको अनुगमन गरिरहेको प्रजिअ उपाध्यायले बताए । काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन नचल्दा मुख्य सडक चोक सुनसान बनेको छ । दैनिक सवारी साधन आवागमनले भीडभाड र व्यस्त रहने उपत्यकाका सडक आज बिहानैदेखि खालिछन् । अत्यावश्यक कामकाजी सर्वसाधारण वैकल्पिक माध्यमबाट गन्तव्यतिर गइरहेका देखिन्छन् ।


काठमाडौँको कोटेश्वर, महाराजगञ्ज, बालाजु, कलङ्की, कालीमाटी, थापाथली, नयाँबानेश्वरलगायत व्यस्त सडक सुनसान छन् । भक्तपुर र ललितपुरका सडक पनि सुनसान छन् । पास नभएका सवारी साधनलाई ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न चोकमा होल्डिङ सेन्टर बनाएर राखेको छ । भद्रकाली, कोटेश्वर, कलङ्कीलगायत मुख्य चोकमा बिनापासका उल्लेख्य सङ्ख्यामा सवारी साधन नियन्त्रणमा लिएर होल्ड गरिएको छ ।

निर्वाचमा शान्ति सुरक्षालाई दुष्टिगत गरी काठमाडौँ, ललितपुर र भक्तपुरमा सवारी साधन सञ्चालनमा रोक लगाइएपछि उपत्यका सुनसान बनेको हो ।सार्वजनिक सवारी साधन सञ्चालन नगर्ने तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निर्णय गरेको थियो । निर्वाचन आयोगले मापदण्ड तोकेका र पास भएका सवारी साधनमात्रै सञ्चालन भइरहेका छन् ।