उत्तर कोरियाले रूसलाई कहिल्यै हातहतियार आपूर्ति नगरेको स्पष्ट गर्दै त्यससम्बन्धमा भ्रामक हल्ला गरेकामा अमेरिकाको कडा शब्दमा निन्दा गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीको अभिव्यक्तिको खण्डन गर्दै प्योङयाङले वासिङटनको निन्दा गरेको हो ।
उत्तर कोरियाले गोप्य रूपमा भारीमात्रामा हातहतियार रूसलाई आपूर्ति गरेको आरोप प्रवक्ता किर्बीले गत हप्ता लगाएपछि प्योङयाङले आफूसँग मस्कोले कहिल्यै हतियारको कारोबार नगरेको स्पष्ट गरेको छ । “हामीले रूसँग कहिल्यै हतियारको कारोबाहर गरेका छैनौँ, भविष्यमा त्यसो गर्ने हाम्रो कुनै योजना छैन,” रक्षा मन्त्रालयको अन्तर्राष्ट्रिय मामिला विभागका एकजना उपनिर्देशकले भनेका छन् ।
अज्ञात ती उपनिर्देशकले अन्तर्राष्ट्रिय क्षेत्रमा उत्तरकोरियाको छवि धमिलो पार्ने अमेरिकाको शत्रुतापूर्ण प्रयासको आज निन्दा गरेका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । आवरणमा उत्तर कोरियाले मध्यपूर्व वा उत्तरअफ्रिकी देशमा हतियार आपूर्ति गरिएको देखाए पनि हातहतियारको वास्तविक गन्तव्य रूस भएको गुप्तचर निकायबाट प्राप्त सूचनाका आधारमा प्रवक्ता किर्बीले बताएका थिए । यसअघि पनि प्योङयाङले वासिङटनलाई ‘लापरबाह टिप्पणी’ नगर्न तथा ‘आफ्नो मुख बन्द राख्न’ आह्वान गरेको थियो ।